झापा । चलचित्र ‘कबड्डी ५’ को अर्को गीत ‘बुझन मलाई’ सार्वजनिक भएको छ । निर्माण टिमले बाँसुरी फिल्म्स युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो ।
द सङ अफ काजी भनिएको गीतमा काजी पात्रको चरित्र र भावनात्मक उतारचढाव समेटिएको छ । बाहिरबाट जिद्दी स्वभावका देखिने काजीको भित्री मनमा लुकेका भावना र संवेदनालाई गीतले उजागर गरेको छ ।
गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वरमा बनेको यो गीतले काजीको कथा र चरित्रलाई सांगीतिक माध्यमबाट प्रस्तुत गरेको छ । उनलाई गीतमा गितारमा आशिष चित्रकार, ड्रम्समा सरिन बज्राचार्य र बेस गितारमा कृष्ण लिम्बूले साथ दिएका छन् ।
यसअघि सिनेमाको प्रमोसनल गीतको रुपमा सार्वजनिक गरिएको ‘थाक खोला’ दर्शकमाझ चर्चित बनेको छ । यो गीतमा पनि संगीतकार कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वर रहेको छ ।
चलचित्रले बक्सअफिसमा आक्रमक व्यापार गरिरहेको छ । कात्तिक ६ गतेदेखि प्रदर्शन भइरहेको सिनेमाले मंगलबारसम्ममा ७ करोडमाथि व्यापार गरिसकेको निर्देशक रामबाबु गुरुङले जानकारी गराएका छन् ।
सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपीन कार्की, रिश्मा गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर वाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ लगायतको अभिनय रहेको छ ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमाका निर्माता निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुन् ।



