Home Main Highlight News ‘पूर्णबहादुरको सारङ्गी’लाई साथ दिँदै ‘केटी हराएको सूचना’को प्रदर्शन स्थगित

‘पूर्णबहादुरको सारङ्गी’लाई साथ दिँदै ‘केटी हराएको सूचना’को प्रदर्शन स्थगित

by Parda Sansar
A+A-
Reset

झापा । यही कात्तिक ३० गते प्रदर्शनको लागि तयारीमा रहेको चलचित्र ‘केटी हराएको सूचना’ को प्रदर्शन स्थगित गरिएको छ । शुक्रबार कार्यकारी निर्माता नकिम उद्दिन तथा निर्देशक दीपेन्द्र गौचनले एक विज्ञप्ति जारी गर्दै प्रदर्शन स्थगित गरिएको जानकारी दिएका छन् ।

प्रदर्शन स्थगित हुनुमा लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले गरिरहेको अभूतपूर्व व्यापारलाई कारण देखाइएको छ । विज्ञप्तिमा भनिएको छ, “जुन प्रकारले ‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकको साथ पाएको छ, यो अवस्थामा नयाँ चलचित्र आउँदा हलहरूले शो बाँडफाँड गर्नुपर्ने र यसले ‘पूर्ण बहादुरको सारङ्गी’जस्तो ऐतिहासिक व्यापार गरिरहेको चलचित्रलाई असर पर्ने सम्भावना देखिएकोले ‘केटी हराएको सूचना’को प्रदर्शन हाललाई स्थगित गरिएको छ । यसले इतिहास कायम गर्न थालेको चलचित्रलाई सहजता दिन्छ भन्ने हाम्रो मान्यता हो ।”

‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेकाले ‘केटी हराएको सूचना’ले कम शो पाउने सम्भावना देखिएको थियो, जसका कारण निर्माताले रिलिज रोक्नु नै उचित विकल्प ठानेका छन् । अब कात्तिक ३० गते फिल्म ‘ह्रस्व दीर्घ’ एकल प्रदर्शन हुनेछ ।

‘केटी हराएको सूचना’को नयाँ रिलिज मिति केही दिनमा घोषणा गर्ने जनाइएको छ । फिल्मको टिजर, ट्रेलर र गीत समेत सार्वजनिक भइसकेको थियो । तीव्र प्रचारप्रसारमा जुटे पनि अन्तिममा प्रदर्शन स्थगित गर्नुपर्दा भने निर्माण पक्षको खर्च भने बढ्ने भएको छ । तर, हिन्दी सिनेमाहरुलाई पनि पछि पार्दै ‘पूर्णबहादुरको सारङ्गी’ले पाएको सफलतामा गौरव गर्दै निर्माण टिमले गरेको निर्णय भने तारिफयोग्य छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link