Home Main Highlight News चलचित्र आफैँ बनाउने टिकट पनि आफैँ काट्ने काम हुनु हुँदैन : रामबाबु गुरुङ
   

चलचित्र आफैँ बनाउने टिकट पनि आफैँ काट्ने काम हुनु हुँदैन : रामबाबु गुरुङ

by Parda Sansar
A+A-
Reset

काठमाडौं । नेपाली चलचित्रका सफल निर्देशक रामबाबु गुरुङले चलचित्रको प्रचार गर्दा विषयवस्तु र लक्षित दर्शकलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको ‘नेपाली फिल्मको बजार र प्रचार शैली’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले दर्शकसम्म पुग्न प्रभावकारी माध्यमको प्रयोग गर्नुपर्ने धारणा राखेका हुन्।

‘कबड्डी’ शृङ्खलाका निर्देशक गुरुङले आफूले सञ्चारमाध्यममार्फत चलचित्रको प्रचार गर्दै आएको उल्लेख गर्दै दर्शकसम्म पुग्ने जुनसुकै प्रभावकारी माध्यम अपनाउन तयार रहेको बताए। यद्यपि, अरूले प्रयोग गरेका सबै प्रचार शैलीको नक्कल गर्न आवश्यक नरहेको उनको भनाइ थियो।

पछिल्लो समय सामाजिक सञ्जालमा सामग्री बुस्ट गर्ने र टिकट बिक्रीसँग जोडिएका विभिन्न प्रचार रणनीतिबारे चर्चा भइरहेका बेला गुरुङले आफ्नो चलचित्रको प्रचार स्वाभाविक रूपमा गरिरहेको बताए। अनावश्यक तडकभडक र आफूलाई जानकारी नभएका प्रचार शैलीमा लाग्नुभन्दा आफ्नो तरिकाले दर्शकमाझ पुग्ने प्रयास गरिरहेको उनले स्पष्ट पारे।

‘मलाई खासै बोल्न आउँदैन। बजारमा कसले के गरिरहेको छ भन्नेबारे पनि धेरै जानकारी छैन,’ गुरुङले भने, ‘म सञ्चारमाध्यममार्फत चलचित्रको प्रचार गरिरहेको छु। अरूले गर्ने सबै प्रचार शैली आफूले गर्नुपर्छ भन्ने छैन।’

चलचित्र निर्माण गर्नु आफ्नो मुख्य काम भएको उल्लेख गर्दै उनले राम्रो चलचित्रलाई दर्शकले साथ दिने विश्वास व्यक्त गरे। चलचित्र बनाउने र टिकट काट्ने काम एउटै पक्षले गर्न नसक्ने उनको आशय थियो। ‘फिल्म बनाउने काम हाम्रो हो, राम्रो फिल्म दर्शकले हेर्नुहुन्छ। फिल्म पनि आफैँ बनाउने अनि टिकट पनि आफैँले काट्ने भन्ने हुँदैन,’ उनले भने।

‘कबड्डी ५’को प्रचार र टिकट बिक्रीलाई लिएर आफू अनावश्यक चिन्तामा नरहेको बताउँदै गुरुङले दर्शकको रुचि र प्रतिक्रियाप्रति विश्वास व्यक्त गरे। दशैँको अवसरमा दर्शकले आफूलाई मन परेको चलचित्र छनोट गरेर हेर्न पाउनुपर्ने उनको धारणा छ। अन्य चलचित्रसँग अनावश्यक प्रतिस्पर्धा गर्ने उद्देश्य नराखी आफ्नो चलचित्र एक सातापछि प्रदर्शन गर्न लागिएको उनले बताए।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउँदै छ। चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, मिरुना मगर, रिश्मा गुरुङ र सिर्जना गुरुङ मुख्य भूमिकामा छन्।

यसका साथै चलचित्रमा पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईँलगायत कलाकारको अभिनय रहेको छ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) हुन्। सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत छ। सञ्जय लामाले छायांकन गरेको चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका छन्।

चलचित्रलाई नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले वितरण गर्दैछन् भने अन्तर्राष्ट्रिय वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ।

‘कबड्डी’का अघिल्ला चारवटै शृङ्खलाले दर्शकबाट पाएको साथले पाँचौँ भागप्रति पनि आफूहरू आशावादी रहेको गुरुङले बताए। अन्य चलचित्र हेरिसकेपछि पनि दर्शक ‘कबड्डी ५’ हेर्न हलसम्म आउने विश्वास व्यक्त गर्दै उनले यसपटक पनि दर्शकको उल्लेखनीय साथ पाउने अपेक्षा राखेका छन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link