काठमाडौं । चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा २’ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘पीजी’ प्रमाणपत्र पाएको छ । असोज ३० गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई अत्यधिक भावनात्मक दृश्य भएको भन्दै यो श्रेणीमा राखिएको हो ।
पीजी प्रमाणपत्र पाएसँगै १६ वर्षमुनिका दर्शकले चलचित्र हेर्न जाँदा अभिभावकको साथमा जानुपर्नेछ । आमा-छोराको सम्बन्ध, पारिवारिक विछोड र सन्तानका लागि अभिभावकले गर्ने त्यागमा आधारित चलचित्रले दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ ।
प्रदर्शनको पूर्वसन्ध्यामा चलचित्रका शोहरू विभिन्न हलमा सार्वजनिक हुन थालेका छन् । बिर्तामोडको पाथिभरा सिने प्लाजाले यस सिनेमालाई रिलिजको दिन ४ वटा शो दिएको छ भने, क्युएफएक्स बिर्तामोड ३ शो उपलब्ध गराएको छ । अन्य हलका शो पनि क्रमश: सार्वजनिक भइरहेका छन् । खल्ती एपका अनुसार दिउँसो २ बजेसम्ममा १४३ वटा शोहरु खुलेका छन् । यद्यपि, शोहरु अझै बढ्ने आँकलन गरिएको छ ।
यसअघि सार्वजनिक भएका ट्रेलर, टिजर र गीतले दर्शकको मन जितेको छ । प्रचारप्रसारका क्रममा निर्माण टोलीले विभिन्न सहरमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरेर माहोल सिर्जना गरेका छन् ।
आर्या इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा कथा तथा निर्देशन चन्द्र पन्तको रहेको छ । फिल्ममा विपना थापा, पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिश्ता गुरुङ, निकिता आचार्य, सविन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट, स्व. प्रदीप रावत, नरेन खड्कालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको देशव्यापी वितरण आरआर फिल्म्सले गर्दैछ ।


