काठमाडौं । आसुसेन फिल्मस् प्रालिको ब्यानरमा बनेको चलचित्र ‘बलिदान’को टिमबाट सौगात मल्लको लुक्स सार्वजनिक गरिएको छ । दशैँको फूलपातीदेखि सिनेमाघरमा आउने यो फिल्ममा ‘रुद्र’को पात्रमा देखिन लागेका सौगात मल्लको रहस्यमयी लुक्स सार्वजनिक गरिएको हो ।
एक पोष्टरमा मल्लको एउटा आँखा अनौठो देखिन्छ । लामो दाह्री, लामो कपाल र गाढा रङको कपडामा उहाँलाई देखिन्छ । उहाँको हातमा एउटा बलिरहेको राँको पनि देखिन्छ । जसले चलचित्रको कथावस्तु द्वन्द्वात्मक प्रकृतिको रहेको जनाउँछ ।
अर्को पोष्टरमा अभिनेता मल्लले हातमा हतियार बोकेर लडाइँको परिवेशमा देखिनुभएको छ । निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’मा अभिनेता मल्लको विल्कुलै फरक अवतार रहेको छ, जसका लागि उहाँले धेरै मिहिनेत गर्नुभएको छ ।
चलचित्रमा समीर भट्ट, सौगात मल्लसँगै अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ । चलचित्रको पवन ब्राडफोर्ड विष्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहनुभएको छ ।