काठमाडौं । आगामी भदौ २६ गते शुक्रबार तीन नेपालीसहित हलिउड र बलिउडका नयाँ चलचित्रहरु रिलिज हुँदैछन् । अहिले प्रदर्शनरत फिल्मसमेत जोड्दा शुक्रबार हलमा ११ फिल्म एकसाथ चल्ने भएका छन् ।
शुक्रबारदेखि माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ र ‘बेहुली’ प्रदर्शनमा आउँदैछन् । यस्तै हलिउडको ‘फल २ : डेडलाइन’ र बलिउडको ‘हाइवान’ पनि रिलिज हुँदैछन् । ‘गौथली’, ‘पार्वती’, ‘स्पाइडरम्यान’, ‘टक्सिस’ र ‘मिर्जापुर’ले पनि कम शोमा निरन्तरता पाउनेछन् ।
यस्तो प्रतिस्पर्धाबीच दयाहाङ राई अभिनित ‘पेन्सन पट्टा’ले शुक्रबारका लागि सर्वाधिक शो पाएको छ । खल्ती एपमा मात्रै १०३ शो रहेको वितरक रोहित कट्टेलले बताएका छन् ।
यस्तै इसेवामा ‘पेन्सन पट्टा’लाई ६० शो उपलब्ध गराइएको छ । अन्य हल तथा सिंगल थिएटर समेत जोड्दा फिल्मले कुल २०६ शो पाएको उनको भनाइ छ । यसपछि पनि पेन्सन पट्टालाई शो थपिने वितरक रोहित कट्टेलले बताए ।
पेन्सन पट्टा’ले लाहुरे जीवनसँग जोडिएको पेन्सनसँगै परिवार, प्रेम, त्याग, पहिचान र सम्बन्धको कथा प्रस्तुत गर्छ । हराएको पेन्सनपट्टासँगै परिवारको विगत र लुकेका सम्बन्धका रहस्य यो चलचित्रमा हेर्न पाइनेछ ।
फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय छ ।
आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्ने फिल्ममा मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ निर्माता छन् । सुशन प्रजापतिको छायांकन तथा सुरज तामुको कास्टिङ निर्देशन रहेको फिल्म २ घण्टा ८ मिनेट लामो र सपरिवार हेर्न मिल्ने गरी प्रमाणित भएको छ ।
त्यस्तै शासन कडेल निर्देशित चलचित्र बेहुलीको शो खल्ती एपमा हेर्दा ८४ वटा देखिएका छन् । शोहरु खुल्ने क्रम जारी छ । पारसबम ठकुरी र दिव्या रायमाझीको मुख्य भूमिका रहेको यस चलचित्रले लभस्टोरीसँगै केही रहस्यमयी कथा प्रस्तुत गर्ने देखिन्छ ।


