काठमाडौं । बाढीपीडितको सहयोगार्थ नेपाल चलचित्र कलाकार संघले रक्त संकलन गरेको छ । संघको ३८औँ स्थापना दिवसको अवसर पारेर मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा रंक्तदान कार्यक्रम गर्दै संघले रगत संकल नगरेको हो ।
कार्यक्रममा कलाकार, प्राविधिक, चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरू गरेर ८६ जनाले रक्तदान गरेका थिए । सोही अवसरमा बाढीपीडितका लागि करिब चार लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको संघका अध्यक्ष उत्तम केसीले जानकारी दिए । कार्यक्रममा हर्के हल्दार टिमबाट एक लाख ३३ हजार ३३३ र कार्यसमिति सदस्य नवीन श्रेष्ठले एक लाख एक हजार सहित करिब चार लाख रुपैयाँ राहतका लागि प्रदान गरे ।
संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने अध्यक्ष केसीले बताए । केसीका अनुसार भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनुका साथै अस्पतालमा हुने रगतको अभावलाई केही हदसम्म पूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रम चलचित्र विकास बोर्डको सहकार्य तथा मेट्रो ब्लड बैंकको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो र उक्त अवसरमा अभिनेत्री भुवन चन्द, शान्ति मास्के, कलाकार कृष्ण मल्ल, मोहन निरौला, रमेश बुढाथोकी, लय संग्रौला, राजु शाह, मुकुन्द आचार्य, उमेश खड्का, तारा शर्मा, रेजिना उप्रेती, रामकाजी घिमिरेलगायतको उपस्थिति थियो । रक्तदान गर्ने कलाकार तथा अन्य रक्तदातालाई संघका तर्फबाट प्रशंसापत्रसमेत प्रदान गरिएको थियो ।


