Home Main Highlight News ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक, भरियाकाे जीवनमा नयाँ ट्वीस्ट
   

‘कार्की साइँला’को ट्रेलर सार्वजनिक, भरियाकाे जीवनमा नयाँ ट्वीस्ट

by Parda Sansar
A+A-
Reset

काठमाडौं । संविधान दिवसको अवसर पारेर असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक गरिएको छ । बाढीका कारण केही दिन प्रचारप्रसार रोकिएको निर्माण टिमले मंगलबार तीन मिनेट १९ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरले ग्रामीण भेगमा भारी बोकेर जीविकोपार्जन गर्ने एक भरियाको संघर्षपूर्ण जीवनलाई केन्द्रमा राखेको छ । ट्रेलरमा आर्थिक अभाव, पारिवारिक सम्बन्ध, सन्तान नहुँदाको पीडा र प्रेमलाई कथाको मुख्य आधारका रूपमा प्रस्तुत गरिएको छ ।

फिल्मका मुख्य पात्र कार्की साइँलाको भूमिकामा जितु नेपाल देखिएका छन् । भारी बोकेर परिवार चलाउँदै आएका उनको चरित्रले जीवनमा आइपर्ने विभिन्न उतारचढावको सामना गरिरहेको देखिन्छ । सन्तान नहुँदा श्रीमतीसँगको सम्बन्धमा आएको दूरी र त्यसबाट सिर्जिएको पारिवारिक विग्रहलाई पनि ट्रेलरले संकेत गरेको छ ।

यसैबीच, सहरबाट गाउँ पुगेकी युवतीको भूमिकामा रहेकी प्रियना आचार्यसँग कार्की साइँलाको प्रेम सम्बन्ध स्थापित हुँदै गएको देखाइएको छ । यही सम्बन्धले फिल्मको कथालाई थप रोचक बनाउने संकेत ट्रेलरले गरेको छ । पारिवारिक द्वन्द्वसँगै त्रिकोणात्मक प्रेमकथाको पाटोलाई पनि फिल्ममा समेटिएको अनुमान गर्न सकिन्छ । ट्रेलरमा नयाँ कथाकाे प्लट पनि देखिन्छ । जसमा बुबा बन्न नसक्ने दुई युवा छन् । तर प्रियना गर्भवती भएपछि बच्चाकाे बुबा काे हाेला भन्ने नयाँ ट्वीस्ट देखिन्छ ।

राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्ममा जितु नेपाल र प्रियना आचार्यसँगै सुशील पोखरेल, मान्शी शर्मा, कमल देवकोटा, मनिल तामाङ, विरेन्द्र सिंह कुशवाहा, दिप्सन लिम्बू, रोदा राई, मेनुका आचार्य, गणेश राजभण्डारीलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई बालकुमार राई र निर्भिक बञ्जाराले निर्माण गरेका हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन् । अनन्त राई कार्यकारी निर्माता हुन् ।

डम्बर राईको कथामा बनेको फिल्मको पटकथा तथा संवाद सविन अधिकारी र शंकर धितालले लेखेका छन् । छायांकन डम्बर राई, सम्पादन सन्देश शाह, द्वन्द्व निर्देशन किरण दाहाल, संगीत दिप्सन लिम्बू र संकेत अगस्ती तथा नृत्य निर्देशन कमल राईको रहेको छ । फिल्मका मुख्य सहायक निर्देशक रोजल थापा हुन् ।

ट्रेलरले ग्रामीण समाजको जीवनशैलीसँगै भरियाको पेशागत संघर्ष, पारिवारिक पीडा र प्रेमलाई जोडेर फिल्मको कथा प्रस्तुत गर्ने संकेत गरेको छ । अब असोज २ गतेदेखि दर्शकमाझ आउने ‘कार्की साइँला’ ले उठाएको विषय र प्रस्तुतिले दर्शकको मन कत्तिको जित्छ भन्ने प्रतीक्षा भने बाँकी छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link