Home Main Highlight News ‘हनुमान अंश’ अब नेपालमा पनि रिलिज हुँदै
   

‘हनुमान अंश’ अब नेपालमा पनि रिलिज हुँदै

by Parda Sansar
A+A-
Reset

मुम्बइ । भारतीय फिल्म ‘हनुमान अंश’ अब नेपालमा पनि प्रदर्शन हुने भएको छ। भारतमा अप्रत्याशित रूपमा ठूलो कमाइ गरेर चर्चामा आएको यो फिल्म यही शुक्रबारदेखि नेपालका सिनेमा हलहरूमा रिलिज हुन लागेको हो।

नेपालका मल्टिप्लेक्सहरूले फिल्मलाई आफ्नो बेवसाइटमा ‘कमिङ सुन’मा राखिसकेका छन्। र, फिल्म शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको जानकारी दिएका छन्।  नेपालमा प्रदर्शन तयारीमा रहेको ‘हनुमान अंश’ को भारतको बक्स अफिस यात्रा भने निकै रोचक छ।

यो फिल्मको चर्चा रिलिजअघि खासै थिएन। फिल्ममा ठूलो स्टारकास्ट थिएनन्, प्रचारप्रसार पनि त्यति भव्य थिएन। भारतीय संचारमाध्यमहरूका अनुसार २ करोड भारू हाराहारीको बजेटमा बनेको भनिएको ‘हनुमान अंश’ले भारतमा पहिलो दिन जम्मा १० लाख भारू कमाएको थियो।

पहिलो सातामा फिल्मको नेट कमाइ १.०८ करोड भारू रह्यो भने दोस्रो सातामा थप ४० लाख मात्रै जोडियो। अर्थात् दुई सातामा फिल्मले जम्मा १.४८ करोड भारू कमाएको थियो। यस्तो कमजोर सुरूआतपछि फिल्म हलबाट उत्रिने अनुमान भइरहेका बेला तेस्रो सातादेखि भने यसको कमाइले अचानक गति लिन थाल्यो।

फिल्म हेरेका दर्शकले अरूलाई सुझाउन थाले, सामाजिक सञ्जालमा चर्चा बढ्यो। र, माउथ पब्लिसिटी फिल्मको सबभन्दा ठूलो प्रचार बन्यो।

तेस्रो सातामा मात्रै फिल्मले १०.४० करोड भारू नेट कमायो। चौथो सातामा त ६१ करोड भारू कमाउँदै बक्स अफिसमा तहल्का नै मच्चायो।

पहिलो दिन १० लाखबाट सुरू भएको फिल्मले अहिलेसम्म आउँदा भारतमा १३१ करोड भारू नेट कमाइ गरिसकेको छ।

भारतमा यस्तो अप्रत्याशित सफलता पाएपछि ‘हनुमान अंश’ नेपालमा रिलिज हुन्छ-हुँदैछ भन्ने चासो थियो। अब भने फिल्म भदौ २६ गतेदेखि नेपालमा समेत रिलिज हुने पक्का भएको हो।

यो फिल्म नीम करोली बाबाको जीवन तथा दर्शनमा आधारित छ। फिल्मका लेखक तथा निर्देशक विशाल चतुर्वेदी हुन्।

फिल्ममा शोभिनव सत्याले नीम करोली बाबाको भूमिका निभाएका छन्। साथमा चन्दन के आनन्द, अनिल रस्तोगी, पूर्णिमा तिवारी, विहान शेड्गे, पूर्णिमा तिवारीलगायत कलाकारहरूको अभिनय छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link