मुम्बई । सन् २०२५ को आधा समय सकिएको छ । यस ६ महिनामा, हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम भाषाका १०० भन्दा बढी फिल्म बक्स अफिसमा रिलिज भए । केही सुपरहिट भए भने धेरै ठूला बजेटका फिल्मले कमाल देखाउन सकेनन् ।
लोकप्रिय फिल्म डेटाबेस वेबसाइट आइएमडीबीले वर्षभरि सबैभन्दा लोकप्रिय भारतीय फिल्महरूको शीर्ष १० सूची जारी गरेको छ । यसमा जनवरी १ देखि जुलाई १, २०२५ सम्म रिलिज भएका फिल्महरू समावेश छन् ।
सूची जारी गर्दा, एमडीबीले फिल्महरू कसरी छनोट गरियो भनेर पनि व्याख्या गरेको छ । नोटमा भनिएको छ, ‘जनवरी १, २०२५ र जुलाई १, २०२५ को बीचमा भारतमा रिलिज भएका सबै फिल्ममध्ये, जसको औसत आइएमडीबी प्रयोगकर्ता मूल्याङ्कन ६ वा सोभन्दा माथि छ, र कम्तिमा १०,००० भोट प्राप्त गरेको छ, यी फिल्म हाम्रा प्रयोगकर्तामाझ निरन्तर रूपमा सबैभन्दा लोकप्रिय छन् ।
यी ती फिल्म हुन् जुन विश्वभरबाट हरेक महिना पोर्टल सर्च गर्ने २५ करोड प्रयोगकर्ताले सबैभन्दा धेरै हेरेका र खोजेका थिए ।
‘छावा’ नम्बर १, शाहिदको ‘देवा’ टप ३ मा
विक्की कौशलको ‘छावा’ शीर्ष १० सबैभन्दा लोकप्रिय भारतीय फिल्महरूको सूचीमा शीर्ष स्थानमा छ, जसले बक्स अफिसमा विश्वव्यापी रूपमा ८०० करोड भारु कमाएको छ । दोस्रो सबैभन्दा लोकप्रिय तमिल फिल्म ‘ड्रयागन’ हो, जसले विश्वव्यापी रूपमा १५० करोड भारुभन्दा बढी कमाएको छ ।
शाहिद कपूरको ’देवा’ बक्स अफिसमा फ्लप साबित भए पनि, यो सबैभन्दा लोकप्रिय फिल्मको सूचीमा तेस्रो नम्बरमा छ ।
शीर्ष १० सूचीमा ६ वटा हिन्दी फिल्म छन् । ‘छावा’ र ’देवा’पछि, अजय देवगनको ’रेड २’, जोन अब्राहमको ’द डिप्लोमेट’, आमिर खानको ’सितारे जमीन पर’ र अक्षय कुमारको ’केसरी च्याप्टर २’ सूचीको हिस्सा हुन् । सलमान खानको ’सिकंदर’ यसमा समावेश गरिएको छैन ।
‘ड्रयागन’बाहेक, यो सूचीमा तमिल फिल्म ’रेट्रो’ र ’विदामुयार्ची’, मोहनलालको मलयालम फिल्म ’एल २ : एम्पुरान’ पनि समावेश छ । सबैभन्दा ठूलो झट्का तेलुगु सिनेमाका फ्यानले महसुस गरेका छन् । यस वर्ष ’संक्रान्तिकी वास्तुनाम’ र ’कोर्ट’ जस्ता सुपरहिट फिल्महरूको बावजुद, टलिउड यस सूचीमा कतै देखिएन ।