झापा । चलचित्र ‘अभिमन्यु : च्याप्टर वान’ को मोसन टिजर सार्वजनिक गरिएको छ । जसमा पैसाका लागि हुने संघर्ष देख्न सकिन्छ ।
पैसाको चक्रव्यूहले कसरी फसाउँछ र यसका लागि मान्छेले कति संघर्ष गर्नुपर्छ भन्ने कथा यो फिल्ममा देख्न पाइने बताइएको छ । टिजरमा मुख्य भूमिकामा रहेका कामेश्वर चौरासियाको मोसन लुक्स रहेको छ । ब्याकग्राउन्डमा विराटनगरको जिल्ला कारागारलाई देख्न सकिन्छ ।
पोस्टप्रोडक्सनमा रहेको यस चलचित्रमा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतलाई देख्न पाइनेछ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सिनेमालाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । जसमा मुकेश खनालको लेखन, मदन थापाको क्रिएटिभ निर्देशन रहेको छ । निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी रहेका छन् । चलचित्र भदौ २७ गतेबाट नेपाली र असोज ६ गतेबाट हिन्दी भर्सनमा वर्ल्डवाइड रिलिज हुनेछ ।