बिर्तामोड । नेपाली फिल्म ‘अभिमन्यु: च्याप्टर १’ मा समावेश आइटम गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएको छ ।
भोजपुरी फ्लेवरको यो गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको रहेको छ । जसमा संगीत संयोजन विषम आचार्यले गरेका छन् ।
आइटम डान्समा जुना सुन्दासलाई किरण श्रेष्ठले साथ दिएका छन् । कोरियोग्राफर रोहन विश्वकर्माले नृत्य भोजपुरी गीतको जस्तै गरेका छन् । फिल्ममा तराईको पात्र र कथा रहेकाले त्यही क्षेत्रमा प्रचलनमा रहको भोजपुरी शैलीको गीत तयार पारेको बुझ्न सकिन्छ । गीतमा ललीपप देखि मुन्नी बद्नामसम्मको शब्दलाई मिक्स गरिएको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको ‘अभिमन्यु: च्याप्टर १’ लाई सुशान्त गौतमले निर्देशन गरेका हुन् ।
पोस्टप्रोडक्सनमा रहेको यो फिल्मको मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरूङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला रहेका छन् ।
फिल्मको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । यसमा मुकेश खनालको लेखन छ भने क्रिएटिभ निर्देशकमा मदन थापा छन् । ‘अभिमन्यु: च्याप्टर १’ नेपालमा भदौ २७ गते र हिन्दी भाषामा असोज ६ गतेबाट विश्वव्यापी रूपमा प्रदर्शनमा आउने तयारीमा रहेको छ ।