बिर्तामोड । आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को फस्टलुक्स सार्वजनिक गरिएको छ । बिहीबार फिल्मका मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई समेटिएको फष्टलुक्समा तीनै पात्र निकै गम्भीर भावभङ्गीमामा देखिन्छन्।
जहाँ सुहानाको सिउँदोमा सिन्दूर, अनि निधारमा टीका लगाएकी छन् । तर पनि उनको मन खुसी छैन भन्ने भाव पोस्टरमा झल्किन्छ । यता प्रकाश सपुत घुम ओढेर रसिला आँखा पारेका छन् । प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ । यी तिनै पात्रले फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको सङ्केत गरेको छ।
लक्ष्मण सुनारको निर्देशन रहेको फिल्ममा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक सङ्घर्षलाई फिल्मले उठान गरेको छ । फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी,ज्याक श्रेष्ठ,सरिता भण्डारी,रेणु न्यौपाने,बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय छ ।
हरि ॐ सिने मेकर्स प्रा.लिको निर्माणमा बनेको फिल्मका निर्माता सुशील पोखरेल हुन् । फिल्मको वितरण आर फिल्मसले गर्दैछ ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।


