बिर्तामोड । गायक उर्गेन डोङ र मोनिका राईको स्वर रहेको नयाँ गीत ‘पर्खाइ’ युट्युबमा सार्वजनिक गरिएको छ । ‘भ्वाइस अफ नेपाल’ फाइनलिस्ट सिक्किमकी मोनिका राईले उर्गेन डोङसँग पहिलो पटक युगल स्वरमा यो गीत गाएकी हुन् ।
उनले नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङलाई धन्यवाद दिँदै फेसबुकमा लेखेकी छन्, ‘उर्गेन डोङ जस्ता प्रतिष्ठित गायकसँग गीत गाउने अवसर दिलाउनु भएकोमा विशेष धन्यवाद व्यक्त गर्दछु ।’ चलचित्र विकास बोर्डका अन्तर्राष्ट्रिय चलचित्र प्रबर्द्धन समिति सदस्य समेत रहेका तामाङले गीत संगीतमार्फत् नेपाल र सिक्किमको सम्बन्धलाई प्रगाढ बनाउने प्रयास स्वरुप यो अवसर प्रदान गरिएको बताए ।
एकअर्कालाई साथ दिँदै अघि बढ्ने प्रेमिल भाव रहेको गीतमा विभिन्न पर्यटकीय क्षेत्रका दृश्यहरु देख्न सकिन्छ । गीतमा शब्द, संगीत संयोजन तथा एरेन्ज स्वयम् उर्गेन डोङको रहेको छ । गीतको रेकर्डिङ बिउर्न स्टुडियोमा गरिएको हो भने मिक्स तथा मास्टरिङ दिपेश प्रधानले गरेका छन् । गीतमा नगेन्द्र राईको बाँसुरी, मनिष गन्धर्वको सारङ्गीको धुन सुन्न सकिन्छ । पार्श्वमा अर्पण लामा, वीरेन्द्र डोङ, बसन्ती लामा र सुमिना लोको आवाज रहेको छ ।
म्युजिक भिडियोमा स्वयं उर्गेन डोङसँगै सोना बज्राचार्य र सुनिल बज्राचार्यको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन, सम्पादन तथा कलरको काम जितु तामाङले गरेका हुन् । सपोर्टिङ कलाकारहरुमा विशाल ब्लोन तामाङ र सुनिता विश्वकर्मा रहेका छन् ।
विजय डोङको निर्देशन रहेको यस गीतको पोस्ट-प्रोडक्सन ब्राइटलाइट पिक्चर्समा गरिएको छ ।



