झापा । पर्यटन कार्यालय काँकरभिट्टा झापाका प्रमुख छविलाल खतिवडाले पर्यटन विकासमा चलचित्र क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ । चलचित्र पत्रकार संघ नेपाल कोशीद्वारा शुक्रबार बिर्तामोडमा आयोजित ‘चलचित्र, पर्यटन र पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
सिक्किममा संस्कृति मन्त्रालयद्वारा आयोजित फिल्म फेस्टिबलको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘१९ वटा देशको सहभागिता रहेको त्यस कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)ले निरन्तर रुपमा खटेको देख्दा उहाँबाट चलचित्र क्षेत्रबाट पर्यटनको विकासमा कसरी जुट्न सकिन्छ भन्ने कुराको सिकाइ भयो, त्यही अनुरुपमा हामीले पनि अगाडि बढ्न सकिने रहेछ ।’
चलचित्रमा भाषाको महत्वपूर्ण भूमिका हुने बताउँदै उहाँले नेपाली चलचित्रहरुलाई विदेशी भाषामा अनुवाद गर्ने वा सबटाइटल राखेर अन्तर्राष्ट्रिय क्षेत्रमा लान सके यसले पर्यटन प्रबर्द्धनमा थप प्रभावकारी हुने धारणा राख्नुभयो । राष्ट्रलाई समृद्ध बनाउने एउटा प्रमुख आधार पर्यटन रहेको बताउँदै उहाँले भन्नुभयो, ‘निजी क्षेत्रलाई पर्यटन क्षेत्रमा आकर्षित गर्न र पर्यटन नीति सुधारका लागि पछिल्लो सरकारमा घनीभूत छलफल चलिरहेको छ ।’
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका खतिवडाले नेपाल समृद्ध बनाउने मुख्य चार क्षेत्र रहेको बताउनुभयो । ‘कृषिमा आधुनिकीकरण, पर्यटनको विकास, जलस्रोतबाट अधिक लाभ लिने र डिजिटल क्षेत्रको विकास गरे मात्र मुलुक समृद्ध हुनसक्छ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले चलचित्रलाई सरकारले प्राथमिकतामा नराखेको प्रति आपत्ति जनाउनुभयो । राज्यले चलचित्र क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, ‘चलचित्र विकास बोर्डमा पनि सरकारको पर्याप्त लगानी छैन, चलचित्र विकास शुल्कबाट चल्नु पर्ने अवस्था रहेको छ ।’ चलचित्र विकास बोर्डको अन्तर्राष्ट्रिय प्रबर्द्धन समिति सदस्य समेत रहनुभएका तामाङले भारतको सिक्किम, बंगाल, आसाम, मेघालय, भुटान जस्ता स्थानमा बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल चलचित्रकर्मी संघका केन्द्रीय सदस्य मिजास पोखरेलले वार्षिक २ सय करोडभन्दा बढीको व्यापार गर्ने नेपालको फिल्म इन्डस्ट्रिजमा झन्डै ५३ प्रतिशत व्यापार नेपाली चलचित्रले धानिरहेको तथ्य प्रस्तुत गर्नुभयो । ‘दर्शकले नेपाली सिनेमाको कहानी रुचाइरहेको कुरा यो तथ्यबाट बुझ्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘त्यसैले हामीले हाम्रो सिनेमाको कथालाई ग्लोबल टुरिजमसँग जोड्न सक्नुपर्छ ।’ नेपालमा भारतीय पर्यटक नै अधिक आउने गरेको तथ्य राख्दै उहाँले कम्तीमा भारतमा नेपाली सिनेमा र्पुयाउने प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल चलचित्र निर्माता संघका केन्द्रीय सचिव युवराज गिरीले चलचित्र निर्माणले पर्यटन क्षेत्रमा सघाउ र्पुयाइरहेको बताउनु भयो । ‘एउटा फिल्म निर्माण हुँदा कम्तीमा ५०-६० जनाको टिमले कुनै ठाउँमा पुगेर काम गर्नुपर्छ, वर्षमा अहिले ४०-५० वटा फिल्म बन्छन्’, उहाँले भन्नुभयो, ‘त्यसो हुँदा रोजगारी सिर्जनासँगै आन्तरिक पर्यटनमा समेत चलचित्र निर्माणले ठूलो भूमिका खेलिरहेको छ ।’ उहाँले चलचित्र, पर्यटन र पत्रकारिता एक अर्काको परिपुरक भएको बताउनुभयो ।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश इन्चार्ज नरेन्द्र बस्नेतले चलचित्र पत्रकारले चलचित्रको मात्र नभएर समग्र कला, साहित्य, भाषा, पर्यटनका क्षेत्रमा कलम चलाउने गरेको बताउनुभयो । त्यस्तै संघका कोशी प्रदेश अध्यक्ष वीरेन्द्रकुमार साहले कोशी प्रदेशमा चलचित्र निर्माणका गतिविधि बढिरहेको बताउँदै सरकारले चलचित्र क्षेत्रलाई पर्यटनसँग जोड्न विशेष प्रावधान ल्याउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संघको कोशी प्रदेश समिति सदस्यमा मनोनित सुनिरा मैनाली र शिव भट्टराईलाई प्रमाणपत्र वितरण गरिएको थियो । सोही अवसरमा कोशी प्रदेशद्वारा प्रकाशित भित्तेपात्रो समेत सार्वजनिक गरिएको छ । अतिथिहरुलाई मायाको चिनोको रुपमा ‘चलचित्र पत्रकार’ पुस्तक र पत्रकार तीर्थ सिग्देलको ‘त्यो झापा’ पुस्तक वितरण गरिएको थियो ।
संघका कोशी प्रदेश उपाध्यक्ष रमेश तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष सुब्रत न्यौपाने, नेपाल फिल्म सोसाइटी कोशी अध्यक्ष देवीभक्त श्रेष्ठ, पर्यटन पत्रकार मञ्च झापा अध्यक्ष विनोद पाण्डे, संघका इलाम अध्यक्ष अतित योङहाङ, सुनसरी अध्यक्ष सुवास संकल्प श्रेष्ठ, वीरता जेसीजका अध्यक्ष एलसी श्रेष्ठ लगायतले धारणा राख्नु भएको थियो । संघका झापा अध्यक्ष एकराज प्रधानले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन संघका कोशी प्रदेश सचिव तुलसीप्रसाद निरौलाले गर्नुभएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष प्रदीप परियार, नयाँ पेपरका अध्यक्ष निर्मलराज खत्री, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स नाटाका वरिष्ठ उपाध्यक्ष शेखर ढकाल लगायतको सहभागिता रहेको थियो ।



