काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउन सफल भएको छ । फिल्म हेर्ने अधिकांशले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन् । बादी समुदायको कथामा बनेको फिल्म उनीहरुकै समुदायले समेत प्रशंसा गरेका छन् ।
अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, नव अभिनेत्री प्रशंसा सुवेदी, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, निरमाया म्याक्स दीपेश खत्री लगायतको टिम शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाको विभिन्न हल पुगेर दर्शक भेट्दै प्रतिक्रिया दिएका छन् । सो क्रममा आमा र छोरीको भावनात्मक कथाले मन छोएको दर्शकले प्रतिक्रिया दिएका छन् । एकल आमाले सङ्घर्ष गरेर छोरीलाई पढाउने विषयले भावुक बनाएको दर्शकको प्रतिक्रिया छ ।
अभिनेत्री स्वस्तिमा खड्काले दर्शकले दिएको माया र प्रक्रियाले आफू उत्साहित भएको बताइन । उनले भनिन्, ‘हामीले फिल्ममार्फत जे भन्न खोजेका थियौँ र देखाउन खोजेका थियौँ त्यसलाई दर्शकले स्पष्ट रुपमा बुझ्नु भएको छ । महिला मात्र होइन, पुरुष दर्शकको आँखा पनि रसाएका छन् । फिल्म हेर्नेले यो कुनै समुदाय वा वर्ग विशेषको नभई सम्पूर्ण आमा र छोरीको कथा भन्नुभएको छ ।’
डेब्यु अभिनेता विशाल देवकोटालाई दर्शकले ‘राम्रो अभिनय’ गरेको भन्दै प्रतिक्रिया दिए । फिल्ममा उनले निर्वाह गरेको ‘नारायण’ कै पात्रको नामले दर्शकले उनलाई हलमा बोलाए । डेब्यु अभिनेत्री प्रशंसा सुवेदीले सबै वर्गका दर्शकले फिल्मलाई माया दिइरहेको बताइन । जेनजी अभियन्ताकी रुपमा चिनिएकी कन्टेन्ट क्रिएटर प्रशंसाले फिल्ममा स्वस्तिमाको छोरीको भूमिका निर्वाह गरेकी छिन् ।
‘लालीबजार’ निर्देशक तथा लेखक यम थापाले फिल्मको बारेमा गरिएको अड्कलबाजी फिल्म हेरेपछि स्पष्ट हुने बताए । उनले स–परिवार नै आनन्दले फिल्म हेर्न सकिने बताए ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरका अभिनेता तथा निर्देशक हुन् भने प्रशंसा जेन–जी पुस्ताकी अभियन्ताकी रूपमा परिचित छिन् ।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।



