काठमाडौं । माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’को असार १५ को अवसर पारेर एकसाथ तीन पोस्टर सार्वजनिक गरिएको छ । भदौ २६ गते प्रदर्शनमा आउने चलचित्रको यी पोस्टरहरुमा पात्रको जीवनशैली, सम्बन्ध र ग्रामीण परिवेशलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।
पोस्टरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई र गौमाया गुरुङ छन् । जीवनका अनेक मोडहरुलाई यहाँ प्रस्तुत गरिएको छ । पोस्टरमा दयाहाङ सैनिक पोसाकमा देखिएका छन् भने गौमाया परम्परागत गुरुङ पहिरनमा छिन् । समग्रमा पोस्टरहरूले ‘पेन्सन पट्टा’ पूर्वलाहुरेको जीवनमा मात्र सीमित नभई नेपाली समाज, पारिवारिक सम्बन्ध र मानवीय मूल्यको गहिरो कथा बोकेको झलक दिएको छ ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, पशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ ।
कथा तथा निर्देशन माओत्से गुरुङकै रहेको सिनेमाको छायांकन सुशन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, कलरिस्ट राजेन्द्र मोक्तान, साउन्ड डिजाइन उत्तम न्यौपाने र भिएफएक्स मनोज श्रेष्ठको छ ।
मिन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङ निर्माता रहेको सिनेमामा डीबी गुरुङ प्रोडक्सन म्यानेजर छन् । सिनेमाको नेपाल वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ ।




