बिर्तामोड । पूर्वको प्रसिद्ध खुला ब्यान्ड प्रतियोगिता ‘झापा रकस्टार’ सिजन ३ को ग्रान्ड फिनाले असार २६ गते बिर्तामोडको अग्रसेन भवनमा सम्पन्न हुने भएको छ । कोशी प्रदेशस्तरीय यस ब्यान्ड ब्याटलमा फिजिकल अडिसनबाट छनोट भएका पाँच ब्यान्डले प्रतिस्पर्धा गर्ने छन् ।
बुधबार पत्रकार भेटघाट गरी आयोजक टिमले प्रतियोगितामा विजेताहरुले प्राप्त गर्ने ट्रफी समेत अनावरण गरेको छ । सो कार्यक्रममा प्रतियोगितालाई जगदम्बा टिभिएसले मुख्य प्रायोजकको रुपमा रही सहयोग गरेकोमा झापा रक स्टार प्रतियोगिताका अध्यक्ष अमृत पौडेलले जानकारी दिएका छन् । उनले ‘झापा रकस्टार’ केवल प्रतियोगिता मात्र नभएर संगीतप्रेमी र नवप्रतिभाहरुलाई एउटै मञ्चमा जोड्ने एउटा सांगीतिक उत्सव बन्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा टिभिएस नेसनल सेल्स हेड हरि न्यौपानेले यो प्रतियोगितामार्फत युवाहरुसँग जोडिन पाएकोमा खुशी व्यक्त भने, ‘यो कार्यक्रममा हाम्रो नयाँ प्रडक्ट TVs Apache RTR 160 4v , USD Projector Headlamp काे रिजनल लन्च पनि हुँदैछ, युथसँग जोडिएर काम गर्न पाउँदा खुशी छौँ ।’ कुनै एक ब्याण्डलाई टिभिएसकाे ब्राण्ड गीत निर्माणकाे अवसर प्रदान गर्ने समेत उनले बताए ।
फिजिकल अडिसनबाट प्रतियोगिताको टप फाइनलिस्टहरुमा आवाज ब्यान्ड (इलाम), यात्री ब्यान्ड (चारआली), बास क्लेफ ब्यान्ड (बिर्तामोड), राग भर्स (बिर्तामोड) र जेनियम ब्यान्ड (धुलाबारी) छनोट भएको कार्यक्रम निर्देशक सुनिता तामाङले बताइन् ।
वैशाख ५ गतेबाट डिजिटल आवेदन खुला गरेसँगै सुरु भएको यस प्रतियोगितामा १२ वटा ब्यान्ड सहभागी थिए । जसमध्ये असार १५ गते सम्पन्न फिजिकल अडिसनमा सहभागी सात ब्यान्डमध्ये छनोट भएर अब फाइनलमा पाँच टिमले प्रतिस्पर्धा गर्ने कार्यक्रमका जनसम्पर्क अधिकृत प्रकाश संग्रौलाले बताए ।
अमृत स्टोरको प्रस्तुति र एनएसएस इभेन्ट्सको व्यवस्थापनमा आयोजना भएको यस प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदसहित म्युजिक भिडियो निर्माण गर्ने अवसर प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार नगद प्राप्त गर्नेछन् । विजेताहरुले विभिन्न ब्रान्डका गितार साथै पोर्टफोलियो सुटको अवसर प्राप्त गर्नेछन् ।

