काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय चलचित्र ‘जलाकी’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले युट्युबमार्फत ‘पहिलो झलक’ नाम दिएर टिजर सार्वजनिक गरेको हो।
टिजरमा उपासना सिंह ठकुरी, सोनम तोप्देन, अस्तित्व भट्टचन र साहारा हाङमा लिम्बूसहितका कलाकारलाई प्रस्तुत गरिएको छ। उपासना शिक्षिकाको भूमिकामा देखिएकी छन्। भिडियोमा उनको बाल्यकाल, कलेज जीवन, सोनमसँगको प्रेमसम्बन्ध र आमाको सम्झनालाई समेत समेटिएको छ।
सुन्दर हिमाली दृश्य, पहाडी भूगोल, हरियाली वनजंगल र नदीका दृश्यले टिजरलाई आकर्षक बनाएका छन्। यसअघि सार्वजनिक ‘चाँदी जलप’ गीत र पोस्टरले दर्शकमाझ चर्चा पाएको निर्माण पक्षको दाबी छ।
‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुंगाबाट निर्मित स्तम्भलाई जनाउने शब्द हो। निर्देशक थापा मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राख्दै मगर र गुरुङ समुदायको संस्कृति, परम्परा तथा भावनालाई कथामा प्रस्तुत गरेका छन्।
चलचित्रमा उपासना र सोनमसँगै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगरलगायत कलाकारको अभिनय छ। मिस सिक्किमसमेत रहेकी साहारा हाङमा लिम्बूले यही चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेकी छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन्।
‘खुस्मा’पछि निर्देशक थापा मगरको नयाँ चलचित्रका रूपमा ‘जलाकी’लाई दर्शकमाझ प्रतीक्षित मानिएको छ। चलचित्र मंसिर ४ गतेदेखि प्रदर्शनमा आउनेछ। वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ।

