काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ ।
शनिबार बिहान पोस्टर सार्वजनिक गर्दै निर्माताले फिल्म प्रदर्शन मिति घोषणा गरेका हुन् । जसअनुसार, यो फिल्म अब फूलपातीको दिनमा ३१ असोजदेखि प्रदर्शनमा आउँदैछ ।
दीपक–दीपाले हरेक वर्षको दशैंमा फिल्म प्रदर्शन गर्दै आएका छन्, यसवर्ष पनि त्यो क्रमले निरन्तरता पाएको छ ।
‘छ माया छपक्कै २’ को सार्वजनिक पोस्टरमा अभिनेता गिरीसहित केकी अधिकारी र सनिशा भट्टराईलाई देख्न सकिन्छ । पुरुष पात्र बाँसुरी बजाइरहेको र दायाँबायाँ रहेका दुई महिला पात्र गर्भवतीको रुपमा देखाइएको छ ।
पोस्टरले लाक्षणिकरुपमा सम्बन्ध र प्रवृत्तिलाई लिएर धेरै कुरा भन्न खोजेको छ ।
सन् २०१९ मा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’को यो दोस्रो श्रृंखला हो । अघिल्लो भाग राजनीति र सम्बन्ध आयाममा तयार भएको थियो । दोस्रो भागलाई पनि समाज र राजनीतिक आयाममा लेखिएको जनाइएको छ ।
दीपेन्द्र लामा निर्देशित यस फिल्मका निर्माता रोहित अधिकारी हुन् । आमा सरस्वती मूभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको प्रस्तुतिमा फिल्म निर्माण भएको हो ।

