काठमाडौं । समाजले सुन्दरताको परिभाषा कसरी निर्धारण गर्छ ? मेकअप र गोरो छालालाई नै सुन्दरता मान्ने सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ‘ब्युटिफूल’ सार्वजनिक गरिएको छ ।
करिब सात मिनेट लामो म्युजिकल भिडियोमा समीर आचार्य र अञ्जुली हमालको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत समीर आचार्यकै छ भने शिभान्सी खड्काकाे अभिनय देख्न सकिन्छ ।
रोशन विश्वकर्माको कोरियोग्राफी, प्रविन भट्टको सम्पादन र अनिल मानन्धरको छायांकन रहेको म्युजिकल फिल्मलाई सुनिल बिकले निर्देशन गरेका हुन् । ‘ब्युटिफूल’ले बाहिरी आवरणलाई सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रहार गरेको छ । मेकअप गरेर अनुहार चम्काउनु र गोरो छालालाई नै सुन्दरताको प्रतीक मान्नु गलत बुझाइ भएको भिडियोबाट बुझिन्छ । वास्तविक सुन्दरता व्यक्तिको बाहिरी स्वरूपमा नभई उसको सोच, व्यवहार र कर्ममा निहित हुने सन्देश यसले दिएको छ ।
आफ्नो वास्तविकता लुकाएर देखाइने चम्किलो अनुहारलाई नै सुन्दरता ठान्नु भ्रम भएको उल्लेख गर्दै गीतले त्यस्तो भ्रमको पछि नलाग्नसमेत आग्रह गरेको छ । मेहनत, परिश्रम र लगावका साथ कर्म गर्दै आत्मनिर्भर बन्न सक्नु नै वास्तविक सुन्दरता भएको गीतको निष्कर्ष छ ।

