काठमाडौं । नेपाली चलचित्र क्षेत्रको लोकप्रिय फ्रेन्चाइज ‘कबड्डी’को पाँचौँ शृंखला ‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरले पुराना पात्रलाई नयाँ समयको कथामा प्रस्तुत गर्ने संकेत गरेको छ । टिजरमा एआई प्रविधिको प्रयोगसमेत देखाइएको छ, जसले यसपटकको कथावाचनमा नयाँ शैली अपनाइएको संकेत गर्छ ।
टिजरमा रिश्मा गुरुङ र दयाहाङ राईको तस्बिरमार्फत अघिल्लो शृंखलाको सम्झना गराइएको छ । पुराना पात्र र उनीहरूसँग जोडिएका घटनालाई पुनः स्मरण गराउँदै चलचित्रले दर्शकलाई कबड्डीको पुरानै संसारमा फर्काउने प्रयास गरेको देखिन्छ ।
यसैगरी, टिजरमा अभिनेता विपिन कार्कीको प्रवेशले पनि विशेष ध्यान खिचेको छ । बाटो सोधेको दृश्यले पुरानो ‘कबड्डी’को शैली र त्यससँग जोडिएका रमाइला क्षणको सम्झना गराउँछ । विपिनको प्रवेशसँगै सोल्टी र सोल्टिनीको सम्बन्धमा नयाँ पात्रको उपस्थितिले कस्तो प्रभाव पार्छ भन्ने जिज्ञासा पनि टिजरले सिर्जना गरेको छ । यद्यपि, कथाको वास्तविक मोड र पात्रहरूबीचको सम्बन्धबारे विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) हुन् भने सागरराज कार्यकारी निर्माता रहेका छन् । चलचित्रको छायांकन सञ्जय लामाले गरेका छन् । सुरेन्द्र पौडेल सम्पादक, उत्तम न्यौपाने ध्वनि डिजाइनर तथा कालीप्रसाद बास्कोटा, झुमा लिम्बू र अधा सुर संगीतसँग सम्बन्धित छन् ।
‘कबड्डी’ शृंखलाले यसअघि नै नेपाली दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । नयाँ टिजरले पुराना पात्र र सम्झनालाई निरन्तरता दिँदै नयाँ कथाको संकेत गरेपछि चलचित्रप्रति दर्शकको चासो थप बढ्ने देखिएको छ ।

