Share via:
इटहरी । सौन्दर्य पेसामा आबद्ध महिलाको प्रतिभा, सीप र आत्मविश्वासलाई प्रवर्द्धन गर्ने उद्देश्यले कोशी प्रदेशमा पहिलोपटक आयोजना भइरहेको ‘द फेस अफ ब्युटिसियन २०२६’को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ ।
कुजु मोटर्सको आयोजना तथा सुजुकी मोटरसाइकल इटहरीको प्रस्तुतिमा भइरहेको प्रतियोगिताको ट्यालेन्ट राउन्ड असोज १० गते इटहरीको तरहरास्थित रुद्राक्ष पार्टी प्यालेसमा सम्पन्न भएको हो ।
राउन्डमा फाइनलका लागि छनोट भएका २१ प्रतिस्पर्धीले नृत्य, गायन, वक्तव्य तथा कविता वाचनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । उनीहरूको प्रस्तुति डान्स कोरियोग्राफर लक्ष्मी समाल मगर, ब्युटिसियन उर्वि श्रेष्ठ र हेयर स्टाइलिष्ट आस्विन लिम्बू सम्मिलित निर्णायक मण्डलले मूल्याङ्कन गरेको थियो । ट्यालेन्ट राउन्डको अङ्क भने ग्रान्ड फिनालेकै दिन सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताले बाहिरी सौन्दर्यसँगै प्रतिस्पर्धीको व्यावसायिक विकासलाई समेत प्राथमिकता दिएको छ । सहभागीलाई मेकअप, हेयरकट, क्लाइन्ट म्यानेजमेन्ट, मार्केटिङ, प्रोफेसनल ग्रुमिङ, फोटोसुट, सामाजिक सञ्जाल एक्सपोजर र मेन्टरसिपसम्बन्धी प्रशिक्षण दिइएको आयोजकको भनाइ छ ।
प्रतियोगिताको विजेताले ताज र ट्रफीसहित १ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पुरस्कार प्राप्त गर्नेछिन् । साथै मिडिया कभरेज, प्रोफेसनल फोटोसुट तथा प्रतिष्ठित ब्रान्डसँग सहकार्यको अवसरसमेत पाउनेछिन् । उक्त ट्यालेन्ट राउन्ड कार्यक्रमको सञ्चालन भूमिका रसाइलीले गरेकी थिइन् ।
ग्रान्ड फिनाले असोज २४ गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा हुँदैछ । प्रतियोगिताका अध्यक्ष अमित राजवंशी तथा सीईओ एवं निर्देशक उर्मिला दर्लामी मगर हुन्।


