काठमाडौं । भुवन केसी निर्देशित चलचित्र ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ । अनमोल केसी र प्रिन्सी खतिवडा मुख्य भूमिकामा रहेको चलचित्रको टिजरले ३०/४० को दशकको प्रेम, सामाजिक परिवेश र तत्कालीन जीवनशैलीको झलक प्रस्तुत गरेको छ ।
टिजरमा भुवन केसीलाई आफ्नो युवावस्थाको प्रेम सम्झिरहेको पात्रका रूपमा देखाइएको छ । त्यसपछि अनमोल र प्रिन्सीबीचको प्रेमकथा अगाडि बढ्छ । सार्वजनिक दृश्यका आधारमा अनमोलले भुवनको युवावस्थाको भूमिका निर्वाह गरेको देखिन्छ । चलचित्रमा भुवन स्वयं पनि महत्वपूर्ण भूमिकामा छन् ।
निर्देशक भुवनका अनुसार ‘बाटुलो जून’ पुरानो समयको कथा मात्र नभई उनको आफ्नै सिनेमायी यात्रासँग पनि जोडिएको छ । आफूले अभिनय गरेका दशकअघिका प्रेमकथाको समय र संवेदनालाई सम्झँदै उक्त परिवेशलाई नयाँ पुस्तामाझ पुनः सिर्जना गर्ने प्रयास गरिएको उनको भनाइ छ ।
चलचित्रबाट प्रिन्सी खतिवडाले अभिनयमा डेब्यु गरेकी छन् भने बेल्जियममा बस्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि नेपाली पर्दामा पुनरागमन गरेकी छन् । सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत छ ।
जिया केसी र भविष्य खड्का निर्मित चलचित्रका सह–निर्माता विवेक थापा हुन् । ‘बाटुलो जून’ कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउनेछ ।


