काठमाडौं । अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर भूमिकामा प्रस्तुत गर्दै नेपाली सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक प्रोमोले सिनेमाको कथावस्तुप्रति दर्शकमा कौतुहलता बढाएको छ ।
बच्चाको रोदन आवाजसँगै सुरु हुने प्रोमोमा निरुतालाई काखमा दुधे बालक बोकेको अवस्थामा देख्न सकिन्छ । गम्भीर मुद्रामा प्रस्तुत उनको पैतालाबाट रगत बगिरहेको दृश्यले प्रोमोलाई थप रहस्यमय र भावुक बनाएको छ । यसअघिका भूमिकाभन्दा फरक देखिएकी निरुताको प्रस्तुतिले सिनेमामा उनको चरित्र र कथाको विषयवस्तुबारे दर्शकलाई जिज्ञासु बनाएको छ ।
कुमार गजुरेलको निर्देशनमा बनेको ‘सारथी’ आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउनेछ । सिनेमा म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको हो । यसको छायांकन संकल्प भुजेलले गरेका छन् ।
सिनेमामा निरुता सिंहसँगै उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेललगायत कलाकारको अभिनय रहेको छ ।
किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्मित सिनेमाका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् ।
सिनेमामा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ । आरआर फिल्म्सले वितरण गर्ने ‘सारथी’ ले निरुताको नयाँ अवतारमार्फत दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।


