काठमाडौं । हरिवंश आचार्य, जितु नेपाल र आर्यन सिग्देललगायतका कलाकारको अभिनय रहेको नेपाली चलचित्र ‘पाँच पाण्डव’को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ ।
तिहारलाई लक्षित गर्दै प्रदर्शनको तयारीमा रहेको वसन्त निरौला निर्देशित चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य भूमिकामा छन् । त्यस्तै, चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरीलगायतका कलाकारको पनि अभिनय रहेको छ ।
नामले पौराणिक कथाको झल्को दिए पनि ‘पाँच पाण्डव’ समकालीन नेपाली समाजको कथामा आधारित सामाजिक चलचित्र हो । महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै वर्तमान नेपाली समाजको कथा प्रस्तुत गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको हो ।
ट्रेलरमा आर्यन सिग्देल इन्सपेक्टरकाे रुपमा अर्जुनकाे अवतारमा देखिएका छन् । महेश त्रिपाठीलाई एक रिपाेर्टरकाे रुपमा प्रस्तुत गरिएकाे छ । भीम बनेका जितु नेपाल र दीपा याे सिनेमामा जाेडीकाे रुपमा देखिँदैछन् । ट्रेलरमा हरिवंश आचार्यकाे भूमिकामा भने फेन्टासी पाराकाे देखिएकाे छ । उनी युधिष्ठिरकाे रुपमा देखिएका छन् । सुशीलकाे क्यारेक्टर भने खासै खुलेकाे छैन । इभा गिरी द्राैपदीकाे रुपमा देखिएकी छन् ।
सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई श्याम तामाङले छायांकन गरेका छन् । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन र अर्जुन पोखरेलको संगीत रहेको छ । काली रानी फिल्म्सको ब्यानरमा निर्मित चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन् भने नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेका छन् ।
चलचित्रलाई आरआर फिल्म्सले देशव्यापी वितरण गर्दैछ । निर्माण पक्षका अनुसार ‘पाँच पाण्डव’ आगामी कात्तिक २० गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ ।
चलचित्र ‘पाँच पाण्डव’को ट्रेलर यहाँ हेर्नुहोस् :


