Home Main Highlight News ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक
   

‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार गीतको भिडियो सार्वजनिक गरेको हो ।

सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर छ । गीतमा एसडी योगीकै संगीत निर्देशन, मिक्सिङ तथा मास्टरिङ रहेको छ भने रिकेश गुरुङले संगीत संयोजन गरेका छन् । गीतमा रत्न बीकको बाँसुरी, मदन रेग्मीको मादल तथा खैँजडी, शिशिर परियारको पञ्चेबाजा र हेमन्त कान्छा रसाइलीको सारङ्गी सुन्न सकिन्छ । गीतको रेकर्डिङ तथा मिक्सिङ सुपरभिजन सागर खड्काले गरेका हुन् ।

प्रेमी–प्रेमिकाबीचको गहिरो प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार उपासना सिंह ठकुरी र सोनम तोप्देनसँगै खड्क बहादुर पुन (खबपु) लगायतका कलाकार देखिएका छन् । भिडियोमा उपासना र सोनमको जोडी सुहाएको छ । अन्य कलाकारहरूको पहिरन, हाउभाउ र प्रस्तुतिले पनि भिडियोलाई स्वाभाविक तथा रमाइलो बनाएको छ ।

यसअघि सिनेमामा समावेश ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीत सार्वजनिक भइसकेका छन् । ती दुवै गीतले युट्युब तथा टिकटकजस्ता सामाजिक सञ्जालमा दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाएका छन् । तेस्रो गीत ‘कलेजीको छेऊ’ले पनि दर्शक तथा श्रोताको मन जित्नेमा निर्माण पक्ष विश्वस्त देखिएको छ ।

आगामी मंसिर ४ गतेबाट प्रदर्शनमा आउने ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाबाट निर्मित स्तम्भलाई जनाउने शब्द हो । निर्देशक अशोक थापा मगरका अनुसार यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर सिनेमामा मगर तथा गुरुङ समुदायको संस्कृति, परम्परा र भावनालाई समेटिएको छ ।

सिनेमामा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्गी, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायतको अभिनय छ । त्यस्तै, क्याप्टेन विजय लामाको विशेष भूमिका रहेको सिनेमामा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर बालकलाकारका रूपमा देखिनेछन् । यसै सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link