झापा । कात्तिक २० बाट प्रदर्शनमा आउने चलचित्र ‘पाँच पाण्डव’को ‘दाजुभाइ जस्ता हुँदैनन्’ बोलको गीत सार्वजनिक भएको छ ।
पूर्व झापाको सालबारी, इलामको कन्याम, श्रीअन्तु लगायत स्थानमा छायाँकन गरिएको गीतमा मुख्य अभिनेताहरु हरिवंश आचार्य, आर्यन सिग्देल, जीतु नेपाल, महेश त्रिपाठी र सुशील सिटौलालाई देख्न सकिन्छ । डा. कृष्ण हरि बरालको शब्द रहेको गीतमा सत्यराज आचार्य र स्वरुप आचार्यको स्वर रहेको छ । जसमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतमा दाजुभाइको प्रगाढ सम्बन्ध प्रस्तुत गरिएको छ । दाजुको अभिभावकत्व र भाइहरुको प्रेम यसमा देख्न पाइन्छ ।
वसन्त निरौला निर्देशित ‘पाँच पाण्डव’को यसअघि सार्वजनिक भएको ट्रेलर-१ ले दर्शकलाई निक्कै कौतुहल बनाएको छ । ट्रेलरमा स्वर्गबाट पृथ्वीमा आएको बताउने युधिष्ठिरले भीम, अर्जुन, नहकुल र सहदेवलाई खोजिरहेका छन् । युधिष्ठिरको भेषमा अभिनेता हरिवंश आचार्य देखिएका छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने, रितेशजंग खत्रीलाई समेत मुख्य भूमिकामा देख्न पाइनेछ ।
यो फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता कालीरानी श्रेष्ठ हुन् । फिल्ममा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । श्याम तामाङको छायांकन रहेको फिल्ममा सुप्रिम पराजुलीको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, गम्भीर विष्ट र विक्रम स्वारको कोरियोग्राफी रहेको छ । फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशभर वितरण गर्नेछ ।



