बिर्तामोड । यही मंसिर २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘पीआर’को जापान प्रदर्शन अधिकार बिक्री भएको छ । जापानमा सिनेमाको वितरण अधिकार युएनए डिजिटलले खरिद गरेको हो ।
सिनेमाका निर्देशक शोभित बस्नेतले जापानका लागि यो सिनेमा राम्रो रकममा बिक्री गरेको बताएका छन् । उनले अन्य देशका सिनेमा वितरकहरुसँग पनि छलफल भइरहेको बताएका छन् । उनका अनुसार ‘पीआर’मा प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको कथा रहेको छ ।
यस चलचित्रमा नीर शाह, गौरी मल्ल, आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा र नवीन घायल लगायतका कलाकारको अभिनय छ । विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्की देखिने छन् ।
रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता तथा लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता अनि गणेश बुढाथोकीको लेखन रहेको सिनेमामा सम्पादन बन्दे प्रसाद र छायांकन सौरभ सायमी र सौरभ लामाको रहेको छ । फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ ।


