झापा । फिल्म ‘पेन्सन पट्टा’ को सम्पूर्ण छायांकनको काम ३३ दिनमा सम्पन्न भएको छ । चरित्र अभिनेता तथा निर्देशक माओत्से गुरुङद्वारा निर्देशित यो फिल्मको छायांकन मंगलबार कास्कीको एक रिसोर्टमा इन्डक्ल्याप गरिएको हो ।
निर्देशक गुरुङले टिमका सबै सदस्यहरूलाई गाह्रो-अफ्ठ्यारो नभनी काम गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्दै अब पोस्ट-प्रोडक्सनको काममा लाग्ने बताएका छन् ।
फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ र यासिली राई लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
यो फिल्म माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बनेको हो । उनीसहित अन्य लगानीकर्ताहरूमा मीन कोन्मे गुरुङ, भोज बहादुर गुरुङ र सपना गुरुङ छन् । फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् ।
फिल्मले भूतपूर्व लाहुरेको कथा जस्तो शीर्षक भए पनि, लोभी केटा कसरी दानी बन्छ भन्ने विषयलाई उठान गर्ने निर्देशकले बताएका छन् ।
फिल्मको छायांकन सुशन प्रजापतिले गरेका हुन् भने संगीततर्फ झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीको योगदान रहनेछ । फिल्मलाई देशव्यापी रुपमा आरआर फिल्म्सले वितरण गर्नेछ ।
