बिर्तामोड । वैशाख २५ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मालती मंगले’को निर्माण पक्षले पूर्वबाट म्युजिकल टुर कार्यक्रम गर्दै प्रचारप्रसार आरम्भ गरेको छ । बिर्तामोडको वानस्टप मल अगाडि मंगलबार साँझ सांगीतिक कार्यक्रमको आयोजना गर्दै मोफसलमा प्रचार आरम्भ गरिएको हो ।
‘मालती मंगले म्युजिक टुर’मा चलचित्रका निर्माता तथा सुप्रसिद्ध गायक रामकृष्ण ढकाल, अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, कलाकार मेक्सम गौडेल र गायिका सलिना विकको सहभागिता रहेको थियो ।
कार्यक्रममा रामकृष्ण ढकाल र सलिना विकले चलचित्रको ‘झ्याम पारम’, ‘ढुङ्गा माथि लेऊ’, ‘सुनैको सपनी’ लगायत गीत प्रस्तुत गरेका थिए । गीतमा कलाकारहरुले नृत्य गरेर साथ दिएका थिए ।
गोर्खा फाउन्डेसनको आयोजनामा भएको सांगीतिक कार्यक्रममा फाउन्डेसनका अध्यक्ष वीरु दर्नालले चलचित्रलाई साथ दिन अनुरोध गरेका छन् । कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल झापा उपाध्यक्ष सुनिता तामाङले गरेकी थिइन् ।
प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस चलचित्रलाई रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो । चलचित्रको कथा स्वयं निर्देशक पाण्डेयले नै लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ । यस चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताको रूपमा रहेका छन् ।
चलचित्रमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ । आरआर फिल्म्सले वितरण गर्ने यो चलचित्रले वैशाख २५ गतेबाट दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्माण पक्षले लिएको छ ।
