बिर्तामाेड । स्व. गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित भएर निर्माण भएको चलचित्र ‘परालको आगो’ अग्रिम टिकट बुकिङ खुला भएको छ ।
यही शुक्रबार (११ वैशाख) बाट देशभर रिलिजमा आउन लागेको यस सिनेमाको प्रदर्शनको मिति नजिकिँदै गर्दा देशभरका मल्टिप्लेक्स सिनेमा हलहरूले अग्रिम टिकट बुकिङ खुलाएका हुन् ।
सोलो रिलिजको मौका पाएको चलचित्रले देशभरका हलमा ठूलो संख्यामा शोज पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समाले ४६ शोज पाएको छ । क्यूएफएक्सले काठमाडौं उपत्यकामा १९ र काठमाडौं बाहिर २७ शोज उपलब्ध गराएको छ ।
आईएनआईले देशभरका आफ्ना ६ वटा हलमा १९ शो दिएको छ । यस्तै वान सिनेमाजले दुई वटा आउटलेटमा १० शो दिएको छ । एफक्यूबले ५ शो उपलब्ध गराएको छ ।
प्रदर्शन हुन अब तीन दिन मात्र बाँकी रहँदा चलचित्रले बुधबार दिउँसो १२ः३० बजेसम्म देशभरका विभिन्न हलहरूमा गरी १ सय हाराहारी शो पाएको छ । अझै केही महत्वपूर्ण हलहरूले बुकिङ खोल्न बाँकी रहेकाले प्रदर्शनको दिनसम्म शोजको संख्या १३० को हाराहारी पुग्ने देखिन्छ ।
चलचित्र ‘परालको आगो’को गीत, टिजर र ट्रेलरले युट्युबदेखि टिकटकसम्म बनाएको बलियो ‘हाइप’का कारण यसले घरेलु बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।
यस साता अन्य ठूला नेपाली वा विदेशी फिल्मको प्रतिस्पर्धा नभएका कारण ‘परालको आगो’ले ‘सोलो रिलिज’को पूर्ण अवसर पाएको छ । यसका साथै शनिबार र आइतबारको सार्वजनिक बिदाले गर्दा चलचित्रको व्यापारिक ग्राफ उच्च हुने अनुमान छ ।
तर, चलचित्रका अगाडि एउटा मुख्य चुनौती पनि छ । प्राप्त भएका शोजहरूलाई दर्शकको उपस्थितिसहित ‘अकुपेन्सी’मा बदल्नु सिनेमाको लागि महत्वपूर्ण हुनेछ । यसका लागि सुरुवाती शो हेर्ने दर्शकको प्रतिक्रिया (वर्ड अफ माउथ) सकारात्मक हुनुपर्ने देखिन्छ । चलचित्रको व्यावसायिक भविष्य सोही प्रतिक्रियाले निर्धारण गर्नेछ ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको यस चलचित्रलाई सुशील पोखरेलले निर्माण गरेका हुन् । चलचित्रमा सुशील देवकोटाको पटकथा तथा संवाद लेखन रहेको छ ।
२ घण्टा १३ मिनेट लामो रनटाइम रहेको यस चलचित्रमा सौगात मल्ल, प्रकाश सपूत र सुहाना थापासँगै सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र मन्जिला बानियाँ लगायतको सशक्त अभिनय रहेको छ ।
मौलिक नेपाली कथा र ग्रामीण परिवेशमा आधारित यस चलचित्रले नेपाली समाजको एउटा यथार्थ पाटोलाई पर्दामा उतारेको निर्माण पक्षको दाबी छ ।
