बिर्तामाेड । पोखरेली साङ्गीतिक समूह ‘बफिन्स ९८’ले जेनजी पुस्ताको आन्दोलन र विद्रोहलाई समेटेर आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘हाम्रो आवाज–नयाँ नेपाल’ ल्याएको छ । गीतको भिडियोले विशेष गरी २०८२ साल भाद्र २३ गते देशैभरका युवाहरूले परिवर्तनको खातिर उठाएको बुलन्द आवाज र सडक सङ्घर्षलाई जीवन्त रूपमा प्रस्तुत गर्ने जमर्को गरेको छ ।
बढ्दो भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रता माथिको नियन्त्रण र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध लगायतका सरकारी कदमको विरोधमा उत्रिएका युवाहरूको कथालाई यस गीतले मुख्य विषयवस्तु बनाएको छ ।
गायक सञ्जीव गुरुङको शब्द तथा स्वर रहेको गीतले युवाहरूलाई आफ्नै माटोमा फर्किएर देश निर्माणमा जुट्न आह्वान गरेको छ । यसअघि पनि ‘हाम्रो देश नेपाल’, ‘म मरे पनि’, ‘रुँदै छ कर्णाली भूमि’, ‘जब घामको पहिलो झुल्का’ र ‘बरबरी आँसु’ जस्ता दर्जनौँ कालजयी देशभक्तिपूर्ण र सामाजिक चेतका गीत पस्किसकेको यस समूहले देश परिवर्तनको अपरिहार्यतालाई पुनः एक पटक साङ्गीतिक धुनमार्फत प्रस्ट्याएको छ ।
गीतको सङ्गीत संयोजन गायक गुरुङ र सुमन तामाङले संयुक्त रूपमा गरेका हुन् भने पोखरास्थित एपोस्टल रेकर्डिङ स्टुडियोमा सुमन तामाङले नै यसको ध्वनि मिश्रण गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा आन्दोलनमा देखिएको युवा उभार, विभिन्न कलाकारहरूले कलामार्फत जनाएको ऐक्यबद्धताका साथै हिमाल, पहाड र तराईका आम नेपालीको श्रम र जीवनशैलीलाई समेटिए को छ ।
