बिर्तामोड । नयाँ वर्ष २०८३ को अवसर पारेर रिलिज भएका दुई फिल्म ‘राम नाम सत्य’ र ‘पहाड’को आधिकारिक बक्स अफिस सार्वजनिक भएको छ ।
सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार गत चैत २७ गते प्रदर्शन भएको राम नाम सत्यले वैशाख १२ गते शनिबारसम्ममा ३ करोडको आँकडा पार गरेको छ । बोर्डको विवरणमा यस फिल्मले ३ करोड ३१ लाख ५८ हजार ८२१ रुपैयाँ ग्रस कलेक्सन गरेको देखिन्छ । फिल्मको यो कमाइ १ लाख १७ हजार ५६४ वटा टिकट बिक्रीबापत भएको हो ।
वैशाख १ गते रिलिज भएको ‘पहाड’ले भने निकै कमजोर व्यापार गरेको छ । यसले प्रदर्शनको १२ दिनमा जम्मा ६१ लाख ७७ हजार २६२ रुपैयाँ ग्रस कमाएको छ । यो अवधिमा फिल्मका १९ हजार ५३९ वटा टिकट बिक्री भएको विवरणमा देखिन्छ ।
तीन करोडको लागतमा बनेको ‘राम नाम सत्य’ र दुई करोडमाथिको लागतमा निर्माण भएको ‘पहाड’को व्यापार हेर्दा अब दुवैको लगानी घरेलु बजारबाट सुरक्षित हुने सम्भावना देखिँदैन । ‘राम नाम सत्य’ले हलबाटै लगानी उठाउन कम्तीमा ८ करोड ग्रस व्यापार गर्नुपर्ने हुन्छ भने ‘पहाड’ले ६ करोडको अनिवार्य व्यापार गर्नुपर्ने हुन्छ ।
