काठमाडौं । यही जेठ १ गतेबाट रिलिज हुने तयारीमा रहेको अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको चलचित्र ‘एक मुठ्ठी बादल’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ ।
झन्डै २ मिनेटको ट्रेलरमा विवाह, सम्बन्ध र पारिवारिक विषयवस्तु देख्न सकिन्छ । सहारा शर्माको निर्देशनमा तयार भएको फिल्ममा निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतको अभिनय रहेको छ ।
ट्रेलरमा एकातिर विवाहको खुशीको माहोल छ भने आँचल चाहिँ तनावमा देखिन्छिन् । विवाहलाई लिएर सामाजिक प्रतिष्ठा, परिवारभित्र आउने सम्बन्ध र अपेक्षाको उतारचढावले ट्रेलर निक्कै रोचक बनेको छ । आमा छोरीको भावनात्मक सम्बन्धको कथा पनि यसमा झल्किएको छ ।
फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । निर्माण टोलीमा जर्मन निर्मातामा सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल छन् ।
मर्णा जेम्सले फिल्मको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् ।
यस फिल्ममा लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व देख्न सकिन्छ । फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । जसलाई नेपालमा वितरण गर्ने जिम्मा आरआर फिल्म्सले लिएको छ ।
