काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘माया भनेकै यस्तो होला’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गीत सार्वजनिक गर्दै चलचित्रको प्रेमिल पक्ष दर्शकमाझ प्रस्तुत गरेको हो।
सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको छ भने स्वर प्रशान्त शिवाकोटी र विज्ञानी पराजुलीले दिएका छन्। गीतले पहिलो नजरमै अंकुराएको प्रेम, त्यसपछि जन्मिने भावना र भविष्यका कल्पनालाई रोमान्टिक शैलीमा प्रस्तुत गरेको छ।
गीतको भिडियोमा एक युवक र तीन युवतीबीचको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ। प्रेमिल कथावस्तुमा आधारित चलचित्रको भाव र शैलीलाई गीतले संकेत गर्ने प्रयास गरेको छ।

गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाहलगायत कलाकारको अभिनय देख्न सकिन्छ।
चलचित्रको निर्देशन रेखा थापाले गरेकी हुन्। यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी थापाको यो तेस्रो निर्देशकीय चलचित्र हो।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ तथा पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन्। साथै लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ।
ध्रुव लम्सालको स्क्रिप्टमा आधारित चलचित्रले प्रेमकथामार्फत सामाजिक भावना र सम्बन्धका विभिन्न आयाम प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ।
चलचित्रका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन्। सुदीप बराल डीओपी, अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, प्रशान्त शिवाकोटी संगीतकार, सुजेनी मल्ल ड्रेस डिजाइनर, प्रिया कार्की मेकअप आर्टिस्ट तथा सुमन तिवारी प्रोडक्सनको जिम्मेवारीमा रहेका छन्।
चलचित्रको वितरण देशभर रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन्।

