काठमाडौं । आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘लज्जावती’ को ट्रेलर सार्वजनिक गरिएको छ। साउन १५ गते ‘खिर खाने दिन’को अवसर पारेर काठमाडौंमा आयोजित विशेष समारोहबीच निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।
राजबहादुर सानेको निर्देशनमा बनेको ‘लज्जावती’ले प्रेमका मिठा क्षणदेखि जीवनमा आइपर्ने अनपेक्षित उतारचढावसम्मको भावनात्मक कथालाई प्रस्तुत गरेको छ। परम्परागत प्रस्तुतिभन्दा केही फरक शैलीमा तयार पारिएको ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने संकेत देखाएको छ।
सार्वजनिक ट्रेलरमा दुई प्रेमिल जोडीको कथा प्रस्तुत गरिएको छ। सुरुवातमा प्रेम, आत्मीयता र खुसीका क्षण देखाइए पनि समयसँगै अभाव, सामाजिक दबाब र जीवनका कठिन परिस्थितिले उनीहरूको सम्बन्धमा ल्याउने परिवर्तनलाई मार्मिक ढंगले चित्रण गरिएको छ।
फिल्ममा श्रीकृष्ण निरौला र मेनुका माझी एक जोडीका रूपमा देखिएका छन् भने मुकुन भुसाल र जानुका विश्वकर्मा अर्को प्रेमिल जोडीका रूपमा प्रस्तुत छन् । ट्रेलरमा विशेषगरी श्रीकृष्ण र मेनुकाको प्रेम, बिछोड, धोका र संघर्षलाई केन्द्रमा राखिएको छ।
चलचित्रमा धीरेन शाक्य, हिउँवाला गौतम, विशाल पहारी, केशव रिजाल, प्रिया रिजाल, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेललगायत कलाकारको अभिनय रहेको छ।
निर्देशक सानेका अनुसार ‘लज्जावती’ले आम मानिसको जीवन, प्रेम र संघर्षलाई यथार्थपरक ढंगले प्रस्तुत गरेको छ। फिल्मले दर्शकलाई आफ्नै जीवनका कथा र भोगाइसँग जोडिन सक्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।
आहा फिल्म्स प्रालिको प्रस्तुति रहेको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता तथा दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। दिव्यराज सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्मलाई कुबेर सिने डिस्ट्रिब्युसनले देशभर प्रदर्शन गर्नेछ।

