काठमाडौं । नेपाली फिल्म उद्योगमा प्राविधिकहरूको श्रम अधिकार, कार्यसमय र नियमित बिदाको विषय बेला–बेलामा बहसमा आउने गरे पनि व्यवहारमा यसको कार्यान्वयन भने अझै प्रभावकारी हुन सकेको छैन। लामो छायांकन तालिका र निरन्तरको कार्यचापका कारण अधिकांश प्राविधिकहरूले पर्याप्त विश्रामको अवसर पाउने गरेका छैनन्।
यही अवस्थालाई मध्यनजर गर्दै रघुजी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ ले प्राविधिकहरूलाई हप्तामा एक दिन अनिवार्य बिदा दिने व्यवस्था लागू गरेको छ।
हाल काठमाडौंमा छायांकन भइरहेको फिल्मको ३०–४० दिनको कार्यतालिकामा प्राविधिकहरूले शारीरिक र मानसिक रूपमा विश्राम गर्न सकून् भन्ने उद्देश्यले यो निर्णय गरिएको निर्माण पक्षले जनाएको छ।
निर्माता रघुनाथ सापकोटाका अनुसार प्राविधिकहरू लामो समयसम्म निरन्तर छायांकनमा व्यस्त रहने भएकाले परिवारसँग समय बिताउने अवसरसमेत सीमित हुने गरेको छ। “प्राविधिकहरू नै फिल्म निर्माणका आधारस्तम्भ हुन्। उनीहरूको स्वास्थ्य, विश्राम र पारिवारिक जीवनप्रति सम्मान व्यक्त गर्दै हप्तामा एक दिन बिदा दिने निर्णय गरेका हौं,” उनले भने।
फिल्मका लेखक तथा निर्देशक अमरदीप सापकोटाले स्वस्थ कार्य वातावरणले सिर्जनात्मक काममा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनका अनुसार पर्याप्त विश्रामले प्राविधिकहरूको कार्यक्षमता मात्र होइन, कामको गुणस्तरसमेत थप प्रभावकारी बनाउनेछ।
नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) का पूर्व उपाध्यक्ष गणेश सापकोटाले पनि प्राविधिकलाई नियमित बिदा उपलब्ध गराउनु समयको आवश्यकता भएको बताए। उनका अनुसार यस्तो अभ्यास एउटा निर्माण कम्पनीमा मात्र सीमित नभई सम्पूर्ण नेपाली फिल्म उद्योगले अपनाउनुपर्ने विषय हो। लामो समयदेखि उठ्दै आएको श्रम अधिकारसम्बन्धी एजेन्डालाई व्यवहारमा उतार्ने प्रयासको स्वागत गर्दै उनले अन्य निर्माण कम्पनीलाई पनि यस्तो अभ्यास अनुसरण गर्न आग्रह गरे।
निर्माण पक्षले प्राविधिकहरूको श्रम अधिकार, कार्य–जीवन सन्तुलन र स्वस्थ कार्य वातावरणलाई प्राथमिकता दिने उद्देश्यले गरिएको यो निर्णय नेपाली फिल्म उद्योगमा सकारात्मक उदाहरण बन्न सक्ने विश्वास व्यक्त गरेको छ।


