Home Main Highlight News ‘पेन्सन पट्टा’ : त्याग र भावनात्मक सम्बन्धको कथा
   

‘पेन्सन पट्टा’ : त्याग र भावनात्मक सम्बन्धको कथा

by Parda Sansar
A+A-
Reset

एकराज प्रधान

केही फिल्म यस्ता हुन्छन्, जहाँ पर्दामा देखिएका पात्र केवल पात्र रहँदैनन् । दर्शक उनीहरूसँग भावनात्मक रूपमा जोडिन पुग्छन् । पात्रलाई के होला, अब के भइदिए हुन्थ्यो, यस्तो परिस्थिति आए के हुन्थ्यो भन्ने जिज्ञासा र चिन्ता दर्शकको मनमा पैदा हुन्छ । माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ त्यस्तै अनुभूति दिने फिल्म हो ।

फिल्म हेरिरहँदा दर्शक कथाभन्दा बाहिर बसेर पात्रलाई हेरिरहेका हुँदैनन्, बरु पात्रसँगै कथा बाँचिरहेका हुन्छन् । यही नै फिल्मको सबैभन्दा ठूलो सफलता हो । ‘पेन्सन पट्टा’मा माओत्से गुरुङको अभिनय पनि छ । तर उनी पर्दामा झुलुक्क देखिएर हराउँछन् । त्यसपछि कतै उनको आवाज सुनिन्छ भने कतै हाँसिरहेको तस्बिर देखिन्छ । तर निर्देशकका रूपमा भने उनको उपस्थिति हरेक दृश्यमा महसुस गर्न सकिन्छ । कथालाई उनले यति सहज र स्वाभाविक रूपमा अघि बढाएका छन् कि दर्शक क्रमश: पात्रहरूसँग नजिकिँदै जान्छन् ।

कथासार भन्नु पर्दा – फिल्मले भूपू लाहुरे गंगाबहादुरको कथा भन्छ । गंगाबहादुरको मृत्यु भइसकेको छ । परिवार पेन्सन लिन जाँदा पेन्सन पट्टामा श्रीमतीको नाम नै अर्कै व्यक्तिको रहेको थाहा हुन्छ । एकातिर आर्थिक समस्या, अर्कोतिर नामसँग जोडिएको रहस्य । अब त्यो नाम कसको हो ? गंगाबहादुरको विगत कस्तो थियो ? उनको प्रेमकथा के थियो ? र, परिवारले त्यो रहस्य पत्ता लगाउन कस्तो संघर्ष गर्नुपर्छ ? फिल्मको मुख्य कथा यही वरिपरि घुम्छ ।

फिल्मको विशेषता भनेको यसले लाहुरेको जीवनलाई केवल आर्थिक पक्षबाट मात्रै हेरेको छैन । पेन्सन पट्टाजस्तो एउटा कागजको टुक्राभित्र लुकेको प्रेम, सम्बन्ध, त्याग, संस्कार र सम्झनालाई फिल्मले कथाको केन्द्रमा ल्याएको छ ।

गंगाबहादुरको छोरा बनेर दयाहाङ राईले गरेको अभिनय फिल्मको प्रमुख आकर्षणमध्ये एक हो । बाबुको विगतसँग जोडिएको रहस्य पत्ता लगाउन उनले गर्ने प्रयाससँगै दर्शक पनि कथाभित्र तानिन्छन् । फिल्मले एउटा महत्वपूर्ण कुरा पनि उठाउँछ — प्रेम हुनु र जीवन चलाउनु एउटै कुरा होइन ।

‘पेन्सन पट्टा’ एउटा लाहुरेको मात्र कथा होइन । यसले लाहुरे परिवारका सन्तानले भोगिरहेका फरक-फरक समस्या र सामाजिक परिवेशलाई पनि समेट्ने प्रयास गरेको छ । बुद्धि तामाङले बेलायत जान प्रयास गरिरहेको पात्रमार्फत कमेडीको शैलीमा पारिवारिक विखण्डनको भावलाई प्रस्तुत गरिएको छ ।

विल्सन विक्रम राईको ‘उदय’ पात्र पनि रोचक छ । गाडी चलाएर जीवन गुजारा गरिरहेका उनी आफ्नै लाहुरे बाबुसँग रिसाएका छन् । उनी किन बाबुसँग असन्तुष्ट छन् भन्ने प्रश्नको जवाफ पनि फिल्मले छुट्टै कथामार्फत दिन्छ ।

पशुपति राईको अभिनय फिल्मको अर्को बलियो पक्ष हो । संवादभन्दा पनि हाउभाउ र अनुहारको भावमार्फत उनले कथाले भन्न खोजेको कुरा दर्शकसम्म र्पुयाएकी छन् । उनको पात्रले नबोलेर पनि धेरै कुरा बोल्छ ।

गौमाया गुरुङको कथा पनि प्रेम र संस्कारबीचको द्वन्द्वमा आधारित छ । सानैमा विवाहका लागि बाँधिएको सम्बन्ध र अर्कोतिर मनले रोजेको प्रेमबीच उनी धर्मसंकटमा छिन् । प्रेम रोज्ने कि संस्कारलाई पछ्याउने भन्ने द्वन्द्व उनको पात्रमार्फत प्रस्तुत गरिएको छ ।

विश्वास गुरुङ हङकङ आईडी भएका लाहुरेको भूमिकामा छन् । ट्रेलरमै देखिएको उनको दयाहाङ राईलाई खुला चुनौती दिने शैली फिल्ममा पनि रोचक लाग्छ । अलिकति घमण्डी र अहंकारी स्वभावको पात्रमा उनको हाइट र बडी स्ट्रक्चरले लाहुरेको चरित्रलाई थप विश्वसनीय बनाएको छ ।

फिल्मको अर्को प्रशंसनीय पक्ष यसको कास्टिङ हो । कथाले मागेअनुसार कलाकार छनोट गरिएको देखिन्छ । जवान गंगाबहादुरको भूमिकामा मनोज गुरुङ सुहाएका छन् । पर्दामा उनको समय धेरै लामो नभए पनि पात्रले छाड्ने प्रभाव बलियो छ । लुनिभा तुलाधरको चरित्र पनि प्रभावशाली देखिन्छ ।
स्व. सुनिल थापालाई पर्दामा देख्दा आउने छुट्टै ऊर्जा ‘पेन्सन पट्टा’मा पनि महसुस हुन्छ । उनको आवाजले मात्रै पनि पात्रको प्रभाव निर्माण गर्न सक्ने क्षमता फिल्ममा देखिन्छ ।

‘छलमाया’को भूमिकामा प्रतीक्षा गुरुङको अभिनय पनि सुन्दर छ । यद्यपि आमाछोराको उमेरगत अन्तर केही ठाउँमा अस्वाभाविक लाग्न सक्छ । पुष्कर गुरुङ वडाध्यक्षको भूमिकामा छन्, जहाँ राजनीति र आर्थिक लेनदेनले समाज र व्यक्तिको जीवनमा पार्ने प्रभावको झल्को पाइन्छ । सुरज तमुले सन्की स्वभावको युवकको भूमिकामा राम्रो काम गरेका छन् ।

प्राविधिक रूपमा हेर्दा फिल्मको गति तीव्र छ । कथा मूलत: एउटै धागोमा अघि बढे पनि त्यसले जीवन र समाजका विभिन्न पक्षलाई छुँदै जान्छ । दृश्यहरू अनावश्यक रूपमा लम्बिएका छैनन् । अधिकांश दृश्य खँदिलो छन् र कथाको भावअनुसार अघि बढ्छन् ।

फिल्ममा साना-साना घटनालाई पनि अर्थपूर्ण ढंगले प्रस्तुत गरिएको छ । गाडीमा बज्ने गीतले अपरिचित युवक र युवतीको मनमा पार्ने प्रभावदेखि पछ्यौरी बाटोमा बिछ्याएर सोल्टिनीले सोल्टीलाई छेक्ने दृश्यसम्मका प्रसंग सुरुमा सामान्य लागे पनि पछि तिनै दृश्य भावनात्मक बन्न पुग्छन् ।

‘मानिलिऊँ’ जस्तो थेगो र ‘बाँच्नका लागि सम्झनाको बाढी नै काफी छ’ जस्ता गहिरा संवादले फिल्मको भावनात्मक पक्षलाई थप बलियो बनाएको छ । परिस्थितिले मानिसलाई कति कमजोर बनाउन सक्छ भन्ने भाव फिल्मले निकै प्रभावकारी रूपमा देखाएको छ ।

फिल्मको संगीत पनि उल्लेखनीय छ । ‘ऐना हेरेर’ गीतले प्रेमकथालाई अगाडि बढाउने मात्र होइन, भावनात्मक दृश्यलाई अझ गहिरो बनाउने काम गरेको छ । ‘जुनी जाला’ गीतले सांस्कृतिक पक्षलाई उजागर गर्छ । ब्याकग्राउन्ड म्युजिक पनि पात्रको मुड र दृश्यको भावअनुसार प्रयोग गरिएको छ ।

समग्रमा ‘पेन्सन पट्टा’ केवल भूपू लाहुरेको कथा मात्र होइन । यो प्रेम गुमाएर जीवनभर छटपटिएर सम्झनामा बाँच्नेहरूको कथा हो । प्रेम, संस्कार, परिवार, आर्थिक समस्या र विगतका सम्झनालाई एउटै कथामा जोड्दै फिल्मले नेपाली मौलिक परिवेशको कथा प्रस्तुत गरेको छ ।

फिल्मको सबैभन्दा ठूलो उपलब्धि भनेको दर्शकलाई पात्रसँग जोड्न सक्नु हो । कथा सरल छ, तर त्यसको प्रस्तुति प्रभावकारी छ । कुन भावनालाई कति समय दिने भन्ने कुरामा निर्देशक सचेत देखिन्छन् । हरेक पात्रको स्क्रिन टाइम समान नभए पनि कथामा उनीहरूको महत्व स्थापित गरिएको छ ।
कलाकारको अभिनय, कास्टिङ, पटकथा, निर्देशन र संगीत ‘पेन्सन पट्टा’का प्रमुख बलिया पक्ष हुन् । कमजोरीका रूपमा केही साना प्राविधिक वा कास्टिङसम्बन्धी प्रश्न उठाउन सकिए पनि समग्र अनुभवलाई त्यसले ठूलो असर गर्दैन । ताङतिङकाे परिवेश पनि गज्जब देखिएकाे छ ।

रेटिङ : ४/५
पहिलो स्टार फिल्मले रोजेको मौलिक विषयका लागि । दोस्रो पटकथा र निर्देशनका लागि । तेस्रो कलाकारको अभिनयका लागि । चौथो गीतसंगीतका लागि । ‘पेन्सन पट्टा’ परिवारसँग बसेर हेर्न सकिने, हाँसो र भावनालाई सँगसँगै बोकेर अघि बढ्ने नेपाली फिल्म हो । विशेषगरी नेपाली समाज, लाहुरे संस्कृति, प्रेम र सम्बन्धका कथामा रुचि राख्ने दर्शकका लागि यो फिल्म एउटा राम्रो अनुभव बन्न सक्छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link