झापा । अभिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर मंगलबार चलचित्र ‘खुस्मा’को ट्रेलर युट्युबमा रिलिज गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो ।
सिनेमाको ट्रेलरले जनयुद्धको प्रभावका बावजुद अकुंराएको एक जोडीको प्रेम र गाउँमा माओवादी सशस्त्र द्धन्द्व बढेपछि गाउँबाट बेपत्ता श्रीमानको प्रतिक्षामा रहेकी श्रीमती तथा परिवारको कथा उठाएको बुझिन्छ । धिरज र उपासनालाई प्रेमी-प्रेमीकाको रुपमा प्रस्तुत गरिएको सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकको मन जित्ने देखिन्छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।
सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।
चलचित्र ‘खुश्मा’ असोज पहिलो हप्तादेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदै छ । चलचित्रका निर्देशक अशोक थापामगरका अनुसार चलचित्र निर्माणमा निकै मेहनत गरिएको छ । वृत्तचित्र निर्माण गर्दै आएका थापाको यो पहिलो कथानक चलचित्र हो ।
पुनमगरको उद्गमथलो रुकुमको मैकोटमा फिल्मका अधिकांश दृश्य खिचिएको निर्माण टिमले जनाएको छ । रुकुमकै तकसेरा, माथिल्लो मनाङ, पोखरा र काठमाडौंमा झण्डै ४५ दिन लगाएर चलचित्र खिचिएको जनाइएको छ ।
चलचित्रको ‘रुकुम मैकोट’ बोलको गीत युट्युबको म्युजिकतर्फ ट्रेन्डिङमा छ । यसअघि नै सार्वजनिक गीत ‘खुसीका फूलहरू’लाई पनि दर्शकले धेरै माया दिएका छन् ।