बिर्तामोड । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग र्पुयाउने उद्देश्यले बिर्तामोड-५ स्थित मदरसा खवाजा गरिब नवाजले २५ हजार ६ सय रुपैयाँ सहयोग गरेको छ ।
मदरसा तथा समुदायबाट संकलन गरिएको उक्त रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरिएको मदरसाका अध्यक्ष सौकत आलमले जानकारी दिए ।
अध्यक्ष आलमले विपद्को समयमा पीडित परिवारलाई सहयोग र्पुयाउनु सबैको सामाजिक दायित्व भएको बताए । उनले सानो-सानो रकम संकलन गरी सहयोग गरिएको बताए । यसले अन्य व्यक्ति तथा संस्थालाई समेत मानवीय सहयोगमा हातेमालो गर्न प्रेरणा मिल्ने अपेक्षा उनको रहेको छ ।
मदरसाको यो सहयोगले धार्मिक तथा सामुदायिक संस्थाहरूले विपद्का बेला निर्वाह गर्न सक्ने सामाजिक भूमिकालाई समेत उजागर गरेको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विभिन्न जिल्ला प्रभावित भएपछि सरकारले राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आह्वान गरेको थियो ।


