इटहरी । ओपन स्पेसकाे आयोजनामा भइरहेको ‘मिसेस पूर्वेली आइकन २०८०’को बिहीवार इटहरीमा ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । ट्यालेन्ट राउन्डमा सहभागी ८ जना फाइनलिस्ट प्रतियोगीहरूले प्रतिभा प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा सहभागी सुनिता पुरी, रेश्मा लिम्बु, मुना बजगाई, रेनुका श्रेष्ठ, रुबिना श्रेष्ठ, जिसिका सापकोटा, दिपिका भट्टराई, र सुस्मा बिस्टले निर्णायक तथा उपस्थित दर्शकका माझ आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । निर्णायक मण्डलमा राजु केसी, स्मित कार्की, प्रज्वल पराजुली र यसोदा रहेका थिए ।
सो राउण्डमा सुनिता, रेश्मा, रेनुका, दिपिका र सुस्माले विभिन्न भाषाभाषीका पहिरनमा नृत्य प्रस्तुत गरेका थिए भने रुबिना श्रेष्ठले गायन प्रस्तुति दिएकी थिइन् । मुना बजगाई र जिसिका सापकोटाले कविता वाचन गरेकी थिइन् । यो प्रतियोगिताको ट्यालेन्ट राउन्ड विशेषत: प्रतियोगीहरूले आफूमा रहेकाे क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहेको थियो ।
ट्यालेन्ट राउन्ड कार्यक्रमको सञ्चालन सजिना श्रेष्ठले गरेकी थिइन् भने यो प्रतियोगिताको कोरियोग्राफी सुभेक्षा कार्कीले गरिरहेकी छन् । यस कार्यक्रमले विवाहित महिलाहरूका लागि नयाँ आयाम थपेको छ । जहाँ सौन्दर्यको परिभाषा केवल बाहिरी स्वरूपमा सीमित नरही उनीहरूमा अन्तरनिहीत कला, क्षमता र बौद्धिक विकासमा जोड दिइएको छ ।
आयोजक संस्था ओपन स्पेसका संचालक सरोज श्रेष्ठका अनुसार यो प्रतियोगिता विवाहित महिलाहरूका लागि एक प्लेटफर्म हो, जहाँ उनीहरूले आफ्नो लुकेको प्रतिभा प्रष्फुटन गर्ने अवसरका साथमा उनीहरूको बौद्धिक क्षमता र अभिव्यक्ति कलामा उल्लेख्य सुधार ल्याउने छ ।
प्रतियोगिताको फाइनल यही असोज १२ गते इटहरीको लायन्स क्लबको सभा हलमा साँझ ६ बजेबाट सुरु हुनेछ । फाइनलमा यी ८ जना फाइनलिस्टहरूले विभिन्न विधाहरूमा प्रतिस्पर्धा गर्दै मिसेस पूर्वेली आइकनको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद ५० हजारसहित अन्य थुप्रै पुरस्कार जित्ने छन् भने सबटाईटलहरु पनि वितरण गरिने आयोजकले जनाएको छ ।