नेपाली फिल्म ‘फिरफिरे फिरिरि’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
विन्ध्यवासिनी क्रियसनद्वारा निर्मित फिल्मलाई मनोज कुमार अधिकारीले प्रस्तुत गरेका हुन्। नवीन भट्टको निर्देशन रहेको यो फिल्म हरर कमेडी जनरामा बनेको हो ।
सार्वजनिक पोस्टरमा चारजना पात्रहरूलाई देखाइएको छ। स्कुटीमा बसिरहेकी युवतीलाई तिन जना युवाहरूले तानातान गर्दै गरेको पोस्टरमा देख्न सकिन्छ । ‘फिरफिरे फिरिरि’ फिल्मको नाम पहेलो रंगले हाइलाइट गरिएको छ जसमा स्लोगन ‘आज साइकल…भोली फरारी…’ लेखिएको छ ।
फर्स्टलुकसंगै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ। फिल्म आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउनेछ ।
यो फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । साथमा मनोज कुमार अधिकारी, शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारहरूको अभिनय छ ।
यसका निर्माता अधिकारी करिब १५ वर्षपछि फेरि फिल्म निर्माणमा फर्किएका हुन्। उनले ‘नौ डाँडा पारी, मंगलसुत्र’ फिल्म निर्माण गरेका थिए । अब निरन्तर फिल्म निर्माणमा लाग्ने योजनासहित ‘फिरफिरे फिरिरि’ बनाएको उनी बताउँछन् ।
सन्दिप श्रेष्ठ र नवीन भट्टको लेखन रहेको यो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्नेमा निर्माण टिम ढुक्क देखिएको छ ।
फिल्ममा जितु तामाङको छायांकन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन छ। फिल्मलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ ।