झापा । चलचित्र ‘कर्मा’ नयाँ वर्षको अवसर पार्दै आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । अभिनेता विपीन कार्कीलाई मुख्य भूमिकामा अनुबन्धित गराउँदै निर्माण टिमले आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ ।
चलचित्रको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ, जसले चलचित्रमा उनको शारीरिक रूपमा फिट र डिफरेन्ट मुडमा रहेको संकेत गरेको छ ।
‘कर्मा’को निर्देशन सौरभ चौधरीले गर्दैछन् । उनले यसअघि चलचित्र ‘अगस्त्य: च्याप्टर-१’को निर्देशन गरेका थिए ।
निर्देशक चौधरीको तेस्रो निर्देशन रहेको यस चलचित्रको कथा पनि उनी आफैँले लेखेका हुन् । चलचित्र एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ । चौधरीका अनुसार यस चलचित्रमा अभिनेता विपीनलाई एक्सन भूमिकामा देख्न पाइनेछ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्र ‘कर्मा’मा बसन्त लम्सालको लगानी रहनेछ । चलचित्रको छायांकन मङ्सिर दोस्रो सातापछि सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ ।