झापा । फिल्म ‘अग्निदहन’ को टिजर सार्वजनिक भएको छ । एक मिनेट १४ सेकेन्डको टिजरमा बोक्सीको आरोप खेपिरहेकी एक अधबैंसे महिलाको क्रियाकलापबाट एक बालिका त्रसित भएको दृश्य देखाइएको छ ।
बोक्सीको लागेको भन्दै धामीझाँक्री र समाजले महिलालाई दिने यातना र मानसिक असन्तुलनको कथालाई प्रस्तुत गरिएको छ ।
फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला र ताराबहादुर गुरुङको अभिनय छ । फिल्म आगामी मंसिर ७ रिलिज हुने जनाइएको छ ।
यो फिल्म साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित छ । फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् ।
फिल्ममा कोविदशरण उपाध्यायको परिकल्पना, लोकमणि पौडेलको कथा र संवाद छ । फिल्म परिच्छेद सेनको पटकथा र मुख्य सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादनमा बनेको छ ।