झापा । निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार एम मिडिया प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको ट्रेलरमा कलेज जीवनको प्रेमकथा र सम्बन्धका उतारचढावहरु प्रस्तुत गरिएको छ ।
चलचित्रको मुख्य भूमिकामा उपासना सिंह ठकुरी र सोनम तोप्देन रहेका छन् । कलेजमा अंकुराएको उनीहरुको प्रेम सम्बन्धले के कस्ता मोडहरु लिन्छ भन्ने कथाको झलक ट्रेलरमा देखिन्छ । ट्रेलरमा आर्थिक अभावले परदेशिन बाध्य भएको कथा समेत देखाएको छ । पर्खाइमा बस्नेहरुको मानसिक अवस्थालाई पनि देख्न सकिन्छ ।
मंसिर ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा उपासना र सोनमसहित शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गरुङ, बुद्धि तामाङ, उषा खड्गी, खड्क बहादुर पुन, लुनिभा तुलाधरलगायतका कलाकारहरूको अभिनय छ । फिल्ममा अभिनेता विजय लामा पनि विशेष भूमिकामा छन् ।
निर्देशक मगरको लेखन तथा सम्पादन रहेको फिल्ममा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर, बेताने मगर (बबिता राना), सुस्मिता बुढाथोकी र राधा थापा निर्माताको रूपमा छन् । फिल्मले मगर समुदायको संस्कृति र आस्थाको प्रतीक मानिने ढुंगाको स्तम्भलाई केन्द्रमा राखेर त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गर्ने निर्माण टिमले जनाएको छ ।



