नेपाली चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक भएको छ । यस टिजरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ । जसमा प्रेमका उतारचढाव पनि देखाइएको छ ।
पहिलो टिजरमा जस्तै दोस्रो टिजरले पनि प्रेम, द्वन्द्व, र रहस्यलाई विशेष रूपमा समेटिएको छ । दोस्रो टिजरमा नाजिर र सृष्टिको सम्बन्धले अगाडि बढ्ने क्रममा उनीहरूको प्रेममा थप संघर्ष र पेचिलो मोडहरू प्रस्तुत गरिएको छ । टिजरको अन्त्यमा दर्शकले नाजिरलाई सृष्टिले अपहरण गरेको दृश्यले अझै धेरै कौतुहल बनाएको छ । यो दृश्यले पहिलो टिजरको विपरीत परिणाम प्रस्तुत गर्दछ, जहाँ सृष्टिलाई नाजिरले अपहरण गरेको देखाइएको थियो ।
यो चलचित्र कात्तिक ३० मा प्रदर्शन हुँदैछ । चलचित्र निर्माण पक्षले दशैंअघि चलचित्रको पोस्टर सार्वजनिक गरेको थियो । चलचित्रमा ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रकै निर्माण रहेको चलचित्रमा उनकै स्क्रिप्ट लेखन छ ।
चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् ।
ट्राई सिटी पिक्चर्सको ब्यानरमा बनेको फिल्ममा नकिम उद्दिन कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व रहेको छ । चलचित्रमा सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर रहनेछ ।
चलचित्रको यसअघि संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको चलचित्र एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।