बिर्तामोड । देशभर पूर्ण बहादुरको सारङ्गीले दर्शकको माया बटुलिरहेको बेला सामाजिक सञ्जाल र चलेका मिडियाहरुमा एउटा नरमाइलो खबर फैलिरहेको छ । पूर्णबहादुरको सारङ्गीलाई कथा चोरी गरेको आरोप लागेको छ ।
‘सङ्ग्रामपुर’का उपन्यासका लेखक डा. शिवशंकर बस्यालले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै यस्तो आरोप लगाएका हुन् । आफ्नो उपन्याससँग कथा र पात्रहरुको चरित्र मिलेको कुरा उनले बुँदागत रुपमा उल्लेख गरेका छन् ।
फिल्ममा रहेको पूर्णे र कमले पात्र जस्ते सङ्ग्रामपुरमा रुपमान र समीर पात्र रहेको र कथानक पनि उस्तै उस्तै रहेको लेखक डा. शिवशंकर बस्यालको दाबी छ । उनले नौ वटा बुँदाहरु उल्लेख गर्दै मूल प्रसङ्ग ठ्याक्कै मिलेको दाबी समेत गरेका छन् ।
उनले लेखेका छन् – बजारमा मन जितिरहेको पूर्णबहादुरको सारङ्गीले मेरो पनि मन तानिरहेको थियो । पहिले ट्रेलरहरू आइपुग्दा खेरि कहीँ न कहीँ परिचित परिवेश जस्तै लागिरहेको थियो । यसै बीचमा ‘सङ्ग्रामपुर’ उपन्यास पढेका एक जना भाइले चलचित्र हेरेपछि यसको कथा उपन्यासभित्र रहेको कथासंग मिलेको कुरा बताए । पूर्णबहादुरको सारङ्गीलाई एक पटक सङ्ग्रामपुर उपन्याससँग जुधाएँ । चलचित्रको मूल कथाको स्वरूपमा सङ्ग्रामपुर उपन्यासका मूल मिलेको प्रसङ्ग पाएँ ।
उनले बुँदागत रुपमा पूर्णबहादुर र कमल जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर रहेको उल्लेख गरेका छन् । पूर्णबहादुरको स्त्री विछोडको रहस्यमयी प्रसङ्ग, आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेको कुरा, विद्यालयका प्रधानाध्यापकले अपमान गरेको कुरा, कमले टप विद्यार्थी भएर दौडिँदै उही भावमा बाबुलाई खबर सुनाउनु जस्ता प्रसङ्गहरु मिलेको उनको आरोप छ । उपन्यासमा समीरले जस्तै फिल्ममा कमलेले मेडिकलमा नाम निकाल्नु, बालाई आर्थिक जोहो गर्न कठिन भएको बुझेर पढ्न नखोज्नु, पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु जस्ता प्रसङ्गहरु उस्तै रहेको भन्दै हिस्सा होइन, वास्तविकता चाहिएको भनेर उनले फेसबुकमा पोस्ट गरेका छन् । उनले यसलाई संयोग मात्र नभई नियोजित भएको बताएका छन् ।
तथापि अन्त्यमा उनले लेखेका छन् – मन जितिरहेको यो चलचित्रले अरु मान्छेहरुको मन जितिरहोस् । मेरो यही शुभकामना ।
तर, उनको यो स्टाटसमा समर्थनभन्दा धेरैले संयोग भएको बताएका छन् । कतिले भने चलचित्र सफल भएकाले ईर्ष्या गरेको भन्दै गाली समेत गरेका छन् । समर्थन जनाउनेहरुले कानूनी रुपमा अघि बढ्न सुझाव दिएका छन् ।
निर्देशक सरोज पौडेलको कथामा महेश दवाडीले यो फिल्मको पटकथा तथा संवाद लेखेका हुन् । यस सम्बन्धमा फिल्मका निर्माता बिनोद पौडेलले पनि सामाजिक सञ्जालबाटै जवाफ फर्काएका छन् ।
उनले लेखेका छन् ‘पूर्ण बहादुरको सारङ्गीको सबैभन्दा सशक्त पक्ष भनेकै यसको कथा हो । पूर्णबहादुरको पात्रको भोगाई तपाईँलाई आफ्नो भोगाई या आफ्नो माता-पिताको भोगाई झैँ लाग्न सक्छ । धेरैले यो त हुबहु मेरो जीवनमा मिल्यो, साह्रै राम्रो चलचित्र बनाउनु भयो भन्नु भएको छ । अब त्यो बेला अलिक क्रान्ति गर्ने वा राजनिति गर्ने भनेकै शिक्षकहरुको बाहुल्यता थियो, मास्टरसाबको जस्तै । गरिबी भएपछि अहिले त धेरै अवहेलना र असमानता भोग्न पर्छ, त्यो समयमा त पक्कै थियो किनकि त्यो समाजको चित्रण हो हामीले देखि आएको नै हो । बाउले सन्तानलाई पढाउँ, मैले जे दु:ख पाएँ जे भोगेँ मेरो संन्तानले नभोगोस् भन्ने कुरा सायद सबै माता-पिता को हुन्छ होला त्यो अवस्थामा । यतिकै दर्शकको आँखाबाट आँशु झरेको होइन । यहि समाजको भोगाईको चित्रण हो, जसले देख्नु भएको छ वा झेल्नु भएको छ, त्यो कुरा दर्शकको आँशु बनि बगिरहेछन् । हाम्रो कथा साधारण छ, सायद हल्का-फुल्का मिल्न सक्ला, किनकि यो कथा यही समाजको हो तर यो चोरीको आरोप नलगाम न हो, यदि त्यस्तो लाग्छ भने प्रतिलिपि ऐनमा जानु होस । यो फेसबुकमा रैला मच्चाएर पुस्तक बिकाउने फण्डा र चलचित्रलाई हानी र्पुयाउने षड्यन्त्र नगरौँ । यो फिलिमको ब्युटी भनेकै यो कथा आफ्नो लाग्नु हो ।’ उनले स्टाटसमा चलखेल सुरु भएको बताउँदै दर्शकको साथ छ, अरुलाई टेरिँदैन भनेका छन् ।
निर्माता पौडेलले सबै बुँदासहित धारणा व्यक्त गर्ने बताएका छन् ।
पूर्णबहादुरको सारङ्गी ४६५ भन्दा बढी शोहरुका साथ हाउसफूलका साथ चलिरहेको छ । तै पनि आफूले रोजेको सिट बुक गर्न नपाएर दर्शकहरु अझै हैरान छन् । सफलताको शिखरतर्फ लम्किरहेको चलचित्रलाई चोरीको आरोप लाग्नु दु:खद् कुरा हो । निर्माण टिमले चाँडै यो कुराको सत्यतथ्य कुरा दर्शकमाझ बताउन जरुरी छ ।