काठमाडौं । नयाँ वर्ष २०८२ को अवसर पारेर तीन चलचित्र ‘कर्मा’, ‘पिताम्बर’ र ‘नरसिंहा : अवतार’ सिनेमाघरमा आउने भएका छन् । दुई एक्सन फिल्म ‘कर्मा’ र ‘पिताम्बर’ले प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा बिहीबार अभिनेता राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा : अवतार’ले पनि प्रदर्शनका लागि यही मिति रोजेसँगै नयाँ वर्षमा त्रिपक्षीय भिडन्त हुने पक्का भएको हो ।
सौरभ चौधरीले निर्देशन गरेको चलचित्र ‘कर्मा’मा विपीनलाई मुख्य भूमिकामा देखाइएको छ । निर्देशक चौधरीको तेस्रो निर्देशन रहेको यस चलचित्रको कथा पनि उनले नै लेखेका हुन् । चलचित्र एक्सन ड्रामा जनरामा निर्माण भएको बताइएको छ । चौधरीका अनुसार यस चलचित्रमा अभिनेता विपीनलाई एक्शन भूमिकामा देख्न पाइनेछ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालले लगानी छ । चलचित्रमा मुकुल भुसाल, अनिल बुढाथोकीलगायतका कलाकारको अभिनय छ ।
यस्तै यही मितिमा सिनेमाघरमा आउने घोषणा गरेको चलचित्र ‘पिताम्बर’ कृषा चौलागाईंले निर्देशन गरेका हुन् । चलत्रिमा प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राई मुख्य भूमिकामा छन् ।
‘पिताम्बर’मा प्रदीप, सौगात र दयाहाङसँगै दिव्या रायमाझी, अनुप विक्रम शाही, सुरक्षा पन्तलगायत कलाकारको अभिनय छ । पुरुषोत्तम प्रधानले खिचेको यो चलचित्रको लेखन प्रदीप भारद्वाजले गर्नुभएको हो भने हिमाल केसीले द्वन्द्व निर्देशन छ । चलचित्रका निर्माता विशाल चौलागाईं हुन् भने सह निर्माता पुरुषोत्तम प्रधान र कार्यकारी निर्माता सुमन गौतम रहेका छन् ।
त्यस्तै यही मितिमा सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘नरसिंहा : अवतार’बाट अभिनेता राजेश हमालले सात वर्षपछि कमब्याक गरेका छन् । चलचित्रमा हमालसँगै सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गीलगायतको अभिनय छ ।
एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले संयुक्त रूपमा वितरण गर्ने यो चलचित्रमा नेम महर्जन, दीपक शर्मा ढकाल, ध्रुव न्यौपाने र नरेन्द्र महर्जन निर्माताको रूपमा रहेका छन् । ‘ह्रस्व दीर्घ’का निर्देशक चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको यो चलचित्रमा राजेश हमाल दुई फरक लुक्समा प्रस्तुत हुने जनाइएको छ ।