द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता पल शाहको मुख्य भूमिका रहेको सिनेमा मोहरको प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार निर्माण टिमले सिनेमाबाट उनको लुक्स सार्वजनिक गर्दै आगामी साउनको २३ गते रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको हो ।
निर्माणपक्षले सिनेमाका मुख्य अभिनेता पलका केही तस्वीर सार्वजनिक गरेको छ । जहाँ, उनी लामो कपाल पालेको अवतारमा प्रस्तुत छन् । हातमा भरुवा बन्दुक समेत छ । यसले, सिनेमामा पलको भूमिका कस्तो होला भन्ने कौतुहलता दर्शकमा पैदा हुने देखिन्छ । यो सिनेमा र आफ्नो भूमिकालाई लिएर उनी उत्साहित छन् । यसपटक दर्शकले आफूलाई फरक गेटअपमा देख्न पाउने पलले बताए ।
फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको सिनेमामा ओम प्रतिकको लेखन तथा निर्देशन छ । सिनेमाका निर्माता चुम्बन जंग शाही हुन् । सिनेमामा पलसहित बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशिल देवकोटा र बाल–कलाकार सारा शर्माको अभिनय छ । सिनेमाको कथावस्तुको बारेमा निर्माणपक्षले केही पनि खुलाएको छैन ।
दीपेन बस्न्यातको डीओपी रहेको सिनेमामा कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको गीत रचना, कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहेको सिनेमाका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । सिनेमाको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको छ ।